जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २९ कार्तिक
धनुषाको जनता नमूना प्राविधिक विद्यालय गिद्धा बेलापट्टीले परम्परागतको आधारलाई टेकेर आधुनिक एवम् प्राविधिक शिक्षालाई समेत जोड दिदै आएको छ ।
स्नातकसम्मको पठनपाठन गराउँदै आएको सो विद्यालयले जिल्लाका अन्य सामुदायिक विद्यालयका लागि उदाहरणीय समेत छ ।
पठनपाठनको शैली, विद्यालयमा शैक्षिक वातावरण, अनुशासनलाई अगाडि राख्दै विद्यार्थीलाई संस्कार दिने कार्यलाई उत्तिकै प्राथमिकतामा राखेको छ ।
पाठ्यपुस्तकको ज्ञानले मात्रै समाजको लागि उत्प्रेरणाको श्रोत बन्न नसक्ने भएकाले विद्यार्थीलाई आफ्नो संस्कारको पनि उत्तिकै खाँचो छ ।
प्रत्येक दिन बिहान एसेम्बलीमा एक जनाले उत्प्रेरणा दिने (मोटिभेसनल स्पीच) प्रवचन दिने गरेका छन् ।
हजारौको संख्यामा लामवद्ध रहेका बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीले उक्त प्रवचन सुन्ने गरेका छन् ।
विद्यार्थीमा किताबी ज्ञानसँगै सामाजिक संस्कार सिकाउनका लागि विहानको सत्रमा दैनिक उत्प्रेरक प्रवचन दिने गरेको विद्यालयका प्रअ पवनकुमार मण्डलले बताए ।
साताको एक दिन बाहिरका विज्ञ विद्यालयमा आमन्त्रित गरेर विद्यार्थीलाई प्रेरित गर्ने अवसर जुटाउने गरिएको छ ।
बिहीबार बिहानको एसेम्बलीमा पनि आन्तरिक नभई बाहिरी विज्ञ विद्यालयमा आमन्त्रित थिए ।
अन्तराष्ट्रिय स्तरमै ख्याती कमाएका भारतका मोटिभेसनल स्पीकर (अभिप्रेरक) डा. ई.भी स्वामिनाथनले जनता नमूना प्राविधिक विद्यालयका विद्यार्थीलाई आफ्नो प्रवचनबाट परिचय गराए ।
आधुनिक युगमा विद्यार्थीहरुले शिक्षासँगै संस्कारलाई आत्मसात गर्नका लागि डा. स्वामिनाथनले प्रेरित गरे ।
समाजमा संस्कारको अभाव हुँदै गएकाले यसलाई अगाडि बढाउने जिम्मा भावी पुस्तामा रहेको छ, उनले भने ।
डा. स्वामिनाथनले बालबालिकाहरुलाई प्राविधिक शिक्षा र उच्च संस्कार सम्बन्धमा प्रवचन दिएका थिए ।
उनले ग्रामीण भेगमा स्थापित जनता नमूना विद्यालयको व्यवस्थापन अनुकरणीय रहेको बताए ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मधुवन माउन्ट आबु राजस्थान भारतका अभिप्रेरक डा. स्वामिनाथनसँगै विद्यालय पुगेका मधेश प्रदेश का सांसद रामअशिष यादवले पनि शिक्षासँगै संस्कार अहिलेको आवश्यक्ता रहेको बताए ।
प्रदेश सांसद यादवले सफलताको मंत्र अटल लक्ष्य, संघर्ष र धैर्यलाई बताए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलले अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गरे ।
