प्रादेशिक अस्पताल जलेश्वर नजिकै रहेका दर्जनौं औषधि पसलहरू दिनभरि बिरामी तान्न व्यस्त हुन्छन् , तर राती १० बजेपछि सबै पसल बन्द हुने गरेको पाइएकोले स्थानियहरुमा चिन्ता बढेको देखिन्छ । यसले गर्दा आकस्मिक रूपमा उपचारका लागि रातको समयमा अस्पताल पुग्ने बिरामीहरू ठूलो समस्यामा पर्ने गरेका छन् भने औषधीको अभावमा ज्यान समेत गुमाउनुपर्ने अवस्था सृजना हुन सक्ने देखिन्छ ।
अस्पताल परिसरभित्र रहेको सरकारी फार्मेसीमा सीमित औषधि मात्र उपलब्ध हुने हुँदा त्यसभन्दा बाहिरका औषधिहरूको आवश्यकतामा बिरामी र उनका आफन्तहरू अन्यौलमा पर्न बाध्य छन्।
स्थानीय व्यवसायीहरू दिनको समयमा प्रतिस्पर्धा गर्दै आफ्नो पसलमा ग्राहक ल्याउने होडमा देखिए पनि, रातको समयमा जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ । जबकि प्रादेशिक अस्पतालले दैनिक सयौं बिरामीलाई सेवा दिइरहेको छ, र इमर्जेन्सी कक्षमा रातको समयमा समेत बिरामीको चाप बढेको रहन्छ ।
अन्य शहरहरुमा जस्तै जलेश्वरमा समेत “स्वास्थ्य सेवा २४ सै घण्टा उपलब्ध हुनुपर्छ । औषधिको अभावका कारण ज्यान जोखिममा पर्ने अवस्था जो कोहिलाई पनि अत्यन्तै दुःखद हुन सक्छ । विकल्पको रुपमा स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयलाई औषधि पसलहरूको पालो मिलाएर रातको समयमा पनि सेवा खुला गराउने व्यवस्था मिलाउनु पर्ने आवश्यकता रहेको देखिन्छ । साथै जलेश्वर प्रादेशिक अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारको अहम भूमिका रहेको कारण यसलाई प्रदेश सरकारले समेत नजिकैबाट हेरी दिगो समाधानको लागि औषधी व्यवसायी संघ महोत्तरीसँग हातेमालो गरेर अगाडी बढन जरुरी देखिन्छ । यस कार्यमा स्थानीय जलेश्वर नगरपालिकाको नगर प्रमुखले समेत ध्यान दिन जरुरी छ ।
