जलेश्वरनाथ महादेवको ईतिहास – Jaleshwortoday

जलेश्वरनाथ महादेवको ईतिहास

 August 4, 2025  
images

कुनै व्यक्तिले नभई स्वयम् अनादी शक्ति स्वयम्भूका रुपमा रहेको पश्चिम भागमा अर्ध चन्द्रकार चिह्न अङ्कित यस लिङ्गमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ । त्यसैले विभिन्न धार्मिक ग्रन्थमा श्लोक लेखिएको छ छु जलेश्वरो महालिङ्ग रुद्रेण स्थापितः स्वयमू ।
जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजा सहित बीचमा केही उठेको भाग छ । मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथ अर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ । अति प्राचीन श्री जलेश्वरनाथ महादेवको सु सञ्चालनको लागि विसं १८६९ तिर श्री पाँच गिर्वाण युद्ध विक्रम साहको शासनकालमा नित्य पूजाआजा चलाउन जलेश्वर महादेव प्रिति गरी विभिन्न ठाउँका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस) (२७५ बिगाहा जग्गा) तत्कालीन पुजारी महन्थलाई लालमोहर ताम्रपत्र दिइयो ।
हाल भने मन्दिर बाहेकको कुनै सम्पत्ति मन्दिरसँग नभएको गुठी संस्थान महोत्तरी जलेश्वरले बताउँछन् । ताम्रपत्र भने पहिलो प्रमाणको रुपमा मन्दिरको लागि अमूल्य छ । पोखरीको इतिहास हेर्दा वरुण सर (महादेव पूजाको लागि) सहस्त्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर (महादेव दर्शन पूर्व हात खट्टा धुने गारधोई पोखरीको नामले प्रचलित), पूर्णि सर (महादेवलाई भोगराजको लागि मखानको पोखरी), महन्थ पोखरी (पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी) अझै यथावत रहे पनि सो को भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ । मन्दिरलाई सौन्दर्यीकरण गरी विश्व सम्पदा सूचीमै पार्न सकिने भए पनि सरोकारवाला निकाय र स्थानीयले समेत चासो दिन नसकेको आरोप छ । जलेश्वर नगरपालिकाले मन्दिरको पोखरी, परिसर र छेउछाउमा फोहर गर्नेलाई नियन्त्रित गर्न सकेको छैन भने थुपारिएको फोहरलाई समेत व्यवस्थित गर्न अटेर गर्दा समस्या थपिँदै गएको फोटो पत्रकारिता गरिसकेका समाजसेवी विश्वनाथ साहको भनाइ छ । त्यस्तै जिल्ला विकास समिति, गुठी संस्थान तथा स्थानीयले समेत मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न ठोस कदम उठाउन सकेका छैनन् ।
मन्दिरभित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिङ्ग स्थापित रहेको छ । मन्दिरबारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौं पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरे पनि ती प्रयास असफल भएकोमा नेपाली सेनाको सहयोगमा बाल्टीले नै जल निकालेर शिवलिङ्गको दर्शन गर्न थालिएको छ । केही वर्षदेखि सशस्त्र प्रहरीले समेत नेपाली सेनासँगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार र तेस्रो सोमबार एक पटकलाई गुफाको जल निकालिने कार्य बन्द भए पनि महाशिवरात्रिको दिन दुईदेखि तीन लाख दर्शनार्थीले शिवलिङ्ग दर्शन गर्ने गरी गुफाको जल निकालिने गरिएको छ । श्रावण महिनामा यस क्षेत्रका विभिन्न शिवालयहरु झै जलेश्वरनाथ मन्दिरमा समेत श्रद्धालु भक्तजनहरुको बाक्लो भिडभाड रहने गरेको छ ।