पर्यटकीय प्रबद्र्धनमा हातेमालो गरौं – Jaleshwortoday

पर्यटकीय प्रबद्र्धनमा हातेमालो गरौं

 September 5, 2025  
Jaleshwor Today Editorial

नेपालमा पर्यटकीय प्रबद्र्धन तथा विकासका लागि सबै क्षेत्रसँग हातेमालो गर्न आवश्यक रहेको देखिन्छ । प्रायजसो नेपाल भारतको सिमानाका तथा भन्सार भएर नै भारतीय पर्यटकहरु नेपाल भित्रिने गर्दछन् । नेपाल भित्रिने चारचक्के तथा दुई पाँग्रे गाडी सहित पर्यटकहरुलाई लाग्ने भन्सार पास दर निश्चित किटान गरी एकै चोटी लिनु पर्ने शुल्क बुझि सोको प्रमाण समेत दिई पर्यटकहरुलाई सहज तथा सरल रुपमा आवागमन गर्न सहयोग गर्न आवश्यक देखिन्छ । विभिन्न बाहानामा सबारी पास हुँदाहुदै पर्यटकहरुबाट थप शुल्क वा जरिवाना रकम असुल्ने काम रोकीनु पर्दछ ।
कतिपय भन्सार कार्यालय जस्तो की भिठामोड,मटिहानी लगायतका ठाउँहरुमा नेपाली बैक शाखाको स्थापना गर्नुका साथै ती बैंकहरुबाट भारतीयहरुलाई समेत भारतीय मुद्रा सटही गर्न सक्ने व्यवस्थाको शुरुवात गर्न आवश्यक रहेको देखिन्छ । सिमानाकाहरुमा स्थानिय पालिकाको सहयोगमा टुरिष्ट गाइडको समेत परिचालन गरी स्थानिय तथा समग्र देशकै धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको बारेमा जानकारी गराउन सकेमा पक्कै पनि भारतीय तथा अन्य देशका पर्यटकहरुलाई थप सहयोग हुनुका साथै स्थानिय तथा राष्ट्रिय स्तरमा पर्यटकीय विकासमा थप टेवा मिल्ने देखिन्छ । पर्यटकलाई कुनै पनि बाहानामा दुव्र्यवहार गर्नु हुदैन । नेपालले अतिथिलाई देवता तुल्य मानेको ईतिहासलाई कुनै पनि राष्ट्रसेवक कर्मचारीले विर्सनु हुदैन । परिवारिक यात्रामा निस्केका पर्यटकहरुसँग समेत अलि उदार भएर सिमानाकामा सहयोग गर्न तथा यात्रा राम्रो बनाउन पहल गर्नुपर्दछ।