
मधेस प्रदेशले अहिले चौथो नयाँ मुख्यमन्त्रीको रुपमा लोसपाको दिग्गज नेता जितेन्द्र सोनललाई पाएको छ । मुख्यमन्त्री सोनल लोसपाको विद्वान तथा क्षमताबान नेताहरु मध्ये एक हुनुहुन्छ । मधेस प्रदेश कृषिदेखि लिएर औद्योगिकरणसम्म पछाडी रहेको देखिन्छ । यहाँ विकासका पूर्वाधारहरु समेत राम्ररी विकसित भएको देखिदैन । प्रदेश सरकारले विकास भन्दा पनि पार्टीका नेता तथा कार्यकर्ता पाल्ने गरेको अभियोग पटक—पटक लाग्ने गरेको छ । भ्रष्टाचारमुक्त तथा सुशासनसहितको प्रदेश निर्माण गर्ने कार्य व्यवहारमा भन्दा बोलिमा मात्र सिमित रहेको देखिन्छ । यहाँ बेरोजगारी,हत्या,बलात्कार तथा जातिय भेदभाव जस्ता विकृतिहरुले प्रश्रय लिएको छ । जेनजी आन्दोलनले मधेस प्रदेशमा समेत भौतिक तथा मानवीय क्षति भएको कारण समग्र देश नै नराम्ररी प्रभावित भएको छ । यस अवस्थामा मधेस प्रदेशलाई नेतृत्व गर्दा कमसे कम मन्त्रीमण्डल विस्तार गरेर मितव्ययिता अपनाई विकासका कामहरु अगाडी बढाउनु पर्ने आवश्यकता रहेको देखिन्छ । निवर्तमान मुख्यमन्त्री सतिश सिंहको सरकारले गर्न नसकेका कामहरुलाई प्राथमिकतामा राखि अघि बढनु पर्ने आवश्यकता रहेको देखिन्छ । जवसम्म मन्त्रालयहरु नै भ्रष्टाचारमुक्त हुदैन तबसम्म सुशासनसहितको प्रदेशको परिकल्पना गर्न सकिदैन । तसर्थ साँसद तथा सचिवहरुबाटै योजनाहरु खरिद बिक्रि हुने कार्यहरु अनिवार्य रुपमा रोकिनु पर्दछ भने यस्ता कार्य गर्ने तथा गराउनेलाई हदैसम्मको कारबाही गर्नु पर्दछ । मधेसी जनता उच्च मुल्य बृद्धिका कारण भारतबाट खाद्यान्नदेखि अन्य सामानहरु ल्याउन बाध्य भएका छन् जसको कारण यहाँका व्यवसायीहरु नोक्सानमा छन् । यसको लागि सिघ्र संघ तथा स्थानिय सरकारसँग समन्वय गरी भारतीय बजारसँग बराबर हुन सक्ने मुल्यमा झार्नु पर्ने नीति ल्याउनुपर्ने जरुरी छ । यस प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई प्रबद्र्धन गर्नुका साथै प्रत्येक जिल्लामा ठूलो उद्योगको स्थापना गराई रोजगारीको अवसर सृजना गर्न जरुरी देखिन्छ ।