आरजे इर्शाद शेख
महोत्तरी, २८ कार्तिक
मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा आजदेखि ‘मटिहानी प्रिमियर लिग (MPL) सिजन–१–२०८२’ भव्य रूपमा सुरु भएको छ। स्थानीय तहमा लुकेको क्रिकेट प्रतिभा पहिचान र बढावा दिने उद्देश्यले सुरु गरिएको उक्त प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभयो।

महोत्तरी र धनुषा जिल्लाका कुल १६ वटा क्रिकेट टोली सहभागी रहेको लिगको पहिलो खेल वटेश्वर गाउँपालिका–५ शान्तिपुर, धनुषा र औरही गाउँपालिका–४ औरही, धनुषाबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा वटेश्वर–५ शान्तिपुरले उत्कृष्ट प्रदर्शन गर्दै औरही–४ औरहीलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

कार्यक्रम MPL सिजन–१ संयोजक रितेश कुमार मंडलको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा नगर उप–प्रमुख मंजु देवी साह, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन साह, सदस्य राम कुमार साह, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न शाखाका प्रमुखहरू, मटिहानी क्रिकेट टोलीका खेलाडी तथा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा खेलकुदको विस्तार, प्रतिभा विकास तथा युवामा खेलप्रतिको आकर्षण बढाउन उद्देश्य राखेर आयोजना गरिएको MPL सिजन–१ आगामी दिनहरूमा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजक टोलीले जनाएको छ।
