काठमाडौंसँगै मधेस पनि चुनावमय – Jaleshwortoday

काठमाडौंसँगै मधेस पनि चुनावमय

 December 29, 2025  
Jaleshwor Today Editorial

काठमाडौंमा विभिन्न राजनीतिक पार्टीहरु जसरी एकिकरण गरी एकताको सन्देशका साथै चुनावलाई सफल पार्ने संकेत दिइरहेका छन् त्यसैगरी अहिले मधेसका विभिन्न पार्टीहरु समेत पार्टी एकिकरण गरी चुनाव लड्ने भएका छन् ।
मधेसका दिग्गज पार्टीका नेताहरु महन्थ ठाकुर,उपेन्द्र यादव,हृदेश त्रिपाठी तथा बृषेश चन्द्र लाल नेतृत्वका पार्टीहरु चुनावी एकता गरी चुनाव लड्ने सहमति भएसँगै मधेस अहिले चुनावमय भएको छ । चुनावी एकताका कारण अहिले मधेसमा समेत टोल—टोल तथा गाउँ—गाउँमा अहिले चुनावको चर्चा चलिरहेको देखिन्छ ।
वर्तमान समयमा काठमाडौं झै जसरी बालेन साह,रवि लामिछाने तथा कुलमान घिसिङ लगायतले चुनावी एकिकरण गरिरहेका छन् त्यसैगरी अहिले मधेसमा समेत प्रतिनिधि सभाको फागुन २१ गते हुने चुनावमा जेनजीको अधिकतम प्रतिनिधित्व देख्न चाहेका छन् मधेसी जनसमुदाय । जेनजी युवायुवतीहरु समेत अहिले समानुपातिक मत माँग्नमा व्यस्त देखिन्छन् भने सामाजिक सँजालहरु समेत प्रतिनिधि सभाका उम्मेदबारहरुका फोटाहरुले भरीएका देखिन्छन् ।
प्रतिनिधि सभाको चुनावमा समग्र मधेस सहित समग्र देश नै होमिनु संघीयता तथा लोकतन्त्रको पक्षमा शुभ संकेत मान्न सकिन्छ । यस चुनावको विरोध गर्ने एमाले तथा अन्य पार्टीहरु समेत समानुपातिक नामाबली सूची निर्वाचन आयोगमा बुझाइरहेको कार्यले समेत सबैको सहभागिता रहने पूर्व अडकल गर्न सकिन्छ ।
मधेस सहित समग्र देशले नयाँ विकासात्मक नेतृत्व चाहेको छ । नेपालको खस्केको आर्थिक सहित अन्य क्षेत्रको आधुनिक विकासको लागि जेनजी सहितको सामानुपातिक नेतृत्वको खाँचो रहेको देखिन्छ । यसको निर्णय त जनताको हातमा रहेको कारण हामी जनसमुदायले समेत यसपालिको चुनावमा निर्णायक तथा निष्पक्ष मतदान गर्न आवश्यक रहेको देखिन्छ ।