मो.इर्शाद
महोत्तरी, ९ माघ
सशस्त्र प्रहरी बल, नेपालको २५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) शुक्रबार महोत्तरी जिल्लामा भव्य रूपमा सम्पन्न भएको छ।
महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीको परिसरमा आयोजित उक्त समारोहमा अमर सशस्त्र प्रहरीको स्मृतिमा शहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो।
कार्यक्रमका अवसरमा अमर सशस्त्र प्रहरीका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने अवकास तथा राजीनामा दिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा आयोजना गरिएका विभिन्न व्यवसायिक प्रतियोगितामा विजयी भएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा कदरपत्र प्रदान गरिएको थियो।
समारोहमा मटिहानी नगरपालिका तथा जलेश्वर नगरपालिकाका नगर प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, विभिन्न वडाका वडा अध्यक्षहरू, मातहत युनिटका कार्यालय प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, साथै गण तथा मातहत इकाइहरूमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू, भू.पू. कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै अवसरमा २५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) को शुभ अवसर पारेर महोत्तरी जिल्लाको सीमा क्षेत्र अन्तर्गत दशगजा इलाकामा भारतीय सीमा सुरक्षा बल (SSB) सँग शुभकामना आदान–प्रदान गरिएको छ। साथै निर्वाचनलाई लक्षित गर्दै संयुक्त सीमा गस्तीसमेत सुरु गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
