मिथलेश सिंह
बर्दिबास, १७ माघ
ॐकार टेलिभिजनबाट नियमित रूपमा प्रसारण हुँदै आएको लोकप्रिय अन्तर्वार्ता कार्यक्रम ‘पञ्चामृत’ मा महोत्तरी क्षेत्र नम्बर- १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार होमप्रसाद पोखरेल ‘कमल’ सहभागी हुनुभएको थियो । कार्यक्रम सञ्चालक जीवनराज दाहालसँगको कुराकानीमा उहाँले मुलुकको वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय पहिचान र विकासका सवालमा आफ्ना धारणा सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरेलले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक संकट र बढ्दो निराशाको मुख्य कारण वर्तमान शासन प्रणाली रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार मुलुकलाई स्थायित्व र दिशानिर्देश दिन संवैधानिक राजसंस्था र वैदिक सनातन मूल्यमा आधारित हिन्दु राष्ट्र आवश्यक भइसकेको छ । वर्तमान व्यवस्थाले राष्ट्रियता कमजोर बनाउँदै देशलाई दिशाहीन बनाएको उहाँको भनाइ छ ।
बर्दिवास–१ मा जन्मिनुभएका तथा हाल स्नातकोत्तर तहमा अध्ययनरत पोखरेलले आफू किसान परिवारबाट आएको बताउँदै जनताको दुःख–सुख नजिकबाट बुझेको दाबी गर्नुभयो । २०७८ सालमा राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष निर्वाचित भएपछि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका उहाँले विशेष परिस्थितिमा उम्मेदवारी दिनुपरेको प्रसङ्गसमेत कार्यक्रममा राख्नुभयो ।
