ओम प्रकाश साह
जनकपुरधाम, १८ माघ
सन्त शिरोमणि गुरु रविदास जीको ६४९औँ जन्मजयन्ती दिवस जनकपुरधाममा सामाजिक समानता, मानव मर्यादा र न्यायको सशक्त सन्देश सहित भव्य रूपमा सम्पन्न भएको छ। चमार कल्याण समाज जिल्ला कार्य समितिको आयोजनामा जनकपुरधाम स्थित मण्डल सेवा समिति कुट्टीको सभा हलमा विविध कार्यक्रम गरी जन्मजयन्ती मनाइएको हो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सन्त गुरु रविदासको विचार आजको समाजका लागि अझ सान्दर्भिक रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“गुरु रविदासले जात, वर्ग र पेशाको आधारमा हुने विभेदको विरुद्ध आवाज उठाउनुभयो। उहाँको दर्शनले सबै मानव समान हुन् भन्ने सन्देश दिन्छ, जुन समावेशी र सभ्य समाज निर्माणका लागि अपरिहार्य छ।”
कार्यक्रम चमार कल्याण समाज जिल्ला कार्य समितिका अध्यक्ष प्रगास महराको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष महराले गुरु रविदासका शिक्षाले आत्मसम्मान, श्रमको सम्मान र शिक्षा मार्फत समाज रूपान्तरणको मार्ग देखाएको उल्लेख गर्नुभयो।
“दलित समुदाय मात्र होइन, सम्पूर्ण समाजले गुरु रविदासका विचारलाई आत्मसात गरे मात्र विभेदरहित समाज निर्माण सम्भव हुन्छ,” उहाँको भनाइ थियो।
विशिष्ट अतिथि चमार कल्याण समाज नेपालका केन्द्रीय अध्यक्ष दिनेश चमारले गुरु रविदासको दर्शन व्यवहारमा उतार्न आजको पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
“शिक्षा, चेतना र संगठन नै सामाजिक परिवर्तनका आधार हुन्। गुरु रविदासको सोचलाई पुस्तान्तरण गर्न सके मात्र समान अवसर र सामाजिक न्याय सुनिश्चित हुन्छ,” उहाँले मन्तव्यमा जोड दिनुभयो।
कार्यक्रममा वक्ताहरूले गुरु रविदासको जीवन संघर्ष, मानवतावादी दर्शन र समतामूलक समाजप्रतिको प्रतिबद्धता माथि प्रकाश पारे। साथै, युवाहरूलाई शिक्षा, आत्मनिर्भरता र सामाजिक सद्भावतर्फ अग्रसर हुन प्रेरित गरिएको थियो।
कार्यक्रममा सामाजिक अगुवा, बुद्धिजीवी, युवावर्ग, महिला तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले गुरु रविदासको शिक्षाले समाजमा सकारात्मक सोच, आपसी सम्मान र सहअस्तित्वको भावना विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
जन्मजयन्ती समारोहले सामाजिक विभेद अन्त्य गर्दै समानता, न्याय र मानव मर्यादामा आधारित समाज निर्माणका लागि एकजुट हुन सबैलाई प्रेरणा दिएको आयोजक चमार कल्याण समाज जिल्ला कार्य समितिले जनाएको छ।
