मो.ईर्शाद
महोत्तरी, १८ माघ
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महोत्तरी जिल्लामा भर्ना गरिएका ३,९९२ जना निर्वाचन प्रहरीलाई आजदेखि औपचारिक तालिम दिन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार तालिम कार्यक्रम जिल्लाका पाँच फरक स्थानमा सञ्चालन भइरहेको छ।
तालिममा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मीलाई मतदान केन्द्रको सुरक्षा व्यवस्था, भीड व्यवस्थापन, आपतकालीन अवस्था नियन्त्रण, निर्वाचन आचारसंहिता पालना तथा व्यवहारिक अभ्याससमेत गराइँदै छ। शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले तालिमलाई उच्च प्राथमिकता दिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। निर्वाचन प्रहरी स्वागत तथा तालिम समुद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले निर्वाचनमा खटिने सुरक्षाकर्मी अनुशासित, जिम्मेवार र समर्पित हुनुपर्नेमा जोड दिँदै १० दिनसम्म तालिम दिएपछि उनीहरूलाई जिल्लाभर परिचालन गरिने जानकारी दिए।
त्यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महोत्तरी चुरे क्षेत्र तथा अन्तर्राष्ट्रिय सीमासँग जोडिएको जिल्ला भएकाले केही मतदान स्थलमा आवतजावत कठिन रहेको र कतिपय स्थानमा भौतिक पूर्वाधारसमेत कमजोर रहेको बताए। यिनै अवस्थालाई मध्यनजर गर्दै संवेदनशीलता निर्धारण गरिएको स्पष्ट पार्दै उनले मतदातालाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा मतदान गर्न सक्ने अवस्था सिर्जना गर्न सबै सुरक्षा निकायलाई सक्रिय हुन निर्देशन दिए।
जिल्लामा निर्वाचन नजिकिँदै जाँदा सुरक्षा तयारीलाई अझ प्रभावकारी बनाइने जनाइएको छ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार यस पटक जिल्लाभर २५८ मतदान स्थल र ५३६ मतदान केन्द्र तोकिएका छन्। ती केन्द्रहरूमा कुल ४ लाख ३१ हजार २ सय ८१ जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ। ठूलो मतदाता संख्यालाई व्यवस्थित रूपमा मतदान गराउन निर्वाचन कार्यालय र सुरक्षा निकायले समन्वयात्मक तयारी तीव्र बनाएका छन्।
अतिसंवेदनशील र संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती तथा निगरानी बढाइने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
