मत र विचारलाई जिम्मेवारीपूर्वक प्रयोग गरौं – Jaleshwortoday

मत र विचारलाई जिम्मेवारीपूर्वक प्रयोग गरौं

 February 7, 2026  

प्रतिनिधि सभाको चुनावमा हामीले मत र विचारलाई जिम्मेबारीपूर्वक प्रयोग गर्न आवश्यक रहेको देखिन्छ । हामीले समयमै सही निर्णय गर्न सकेनौं भने हामी पनि फेरि–फेरि नयाँ–नयाँ अनुहारमा पुरानै गल्ती दोहो¥याइरहने देखिन्छ । त्यसपछि पछुताउनु बाहेक हामीसँग अरू कुनै विकल्प बाँकी रहदैन । यहाँ अर्को ठूलो भ्रम पनि छ– पार्टी नै सबै समस्याको जरो हो भन्ने । वास्तविकता त्यस्तो नरहेको देखिन्छ । समस्या पार्टी होइन, त्यसभित्र बसेका अक्षम, अवसरवादी र राजनीतिक रूपमा अपरिपक्व नेतृत्व गर्ने रहेको देखिन्छ । सचेत नागरिकको भूमिका यहाँ निर्णायक हुन्छन । पार्टीलाई गाली गरेर हामीले जिम्मेवारीबाट भाग्न सक्दैनौं । आवश्यकता के हो भने त्यस्ता असक्षम नेतृत्वलाई पन्छाएर विचार, अनुभव, नैतिकता र जिम्मेवारी बोक्न सक्ने मानिसलाई अगाडि ल्याउने साहस नागरिकमा हुनुपर्छ । नयाँ दल र नयाँ नेता जन्मनु लोकतन्त्रको स्वाभाविक प्रक्रिया रहेको देखिन्छ । यसलाई रोक्न हुँदैन, डराउन पनि हुँदैन । तर नयाँको नाममा ठग, चटके र क्षणिक लोकप्रियताको व्यापार गर्नेहरूसँग जोगिनु नागरिकको कर्तव्य रहेको देखिन्छ । लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति जनता रहेको छ । तर त्यो शक्ति चेतनाविहीन भयो भने त्यही शक्ति आफैंमाथि बोझ बन्ने देखिन्छ । सक्रिय नागरिक भनेको केवल मतदानमात्र होइन । राजनीतिक चेतनाले शिक्षित निर्णय गर्न, सहभागी हुनु र सार्वजनिक छलफलमा आवाज उठाउन पनि सिकाउँछ । त्यसैले नागरिकले आफ्ना मत र विचारलाई अब जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ ।