जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० चैत्र
यही चैत १९ गतेबाट सुरु हुन लागेको एसइई परीक्षा–२०८२ मा मधेश प्रदेशबाट ८७ हजार पाँच सय ९१ जना विद्यार्थी सहभागी हुने भएका छन् । आठ जिल्लामध्ये धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुने छन् ।
धनुषाका दुई सय ३ विद्यालयका १३ हजार २ सय ६२ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । सबैभन्दा कम विद्यार्थी सप्तरीबाट १ सय ६२ विद्यालयका नौ हजार २ सय ७६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका निर्देशक महेन्द्र महतोले बताए ।
त्यस्तै, सिराहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३ सय ५१, सर्लाहीबाट ११ हजार ३ सय ७१, रौतहटबाट नौ हजार ७ सय ७७, बाराबाट १० हजार ८ सय १३ र पर्साबाट १० हजार ७ सय ३ विद्यार्थी सहभागी हुने निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार परीक्षाका लागि प्रदेशमा दुई सय ९९ वटा परीक्षा केन्द्र तोकिएको छ भने एक हजार ३ सय १६ विद्यालयका विद्यार्थी एसइई परीक्षा–२०८२ मा सहभागी हुने छन् ।
परीक्षालाई व्यवस्थित बनाउन २ सय ९९ जना केन्द्राध्यक्ष, ४ सय ३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २ सय ३५ जना निरीक्षक, ७ सय ३४ जना परीक्षा सहायक तथा एक हजार ६ सय ३ जना कार्यालय सहयोगी खटाइने तयारी रहेको निर्देशक महतोले बताए ।
परीक्षामा सुरक्षाको व्यवस्था सुदृढ बनाउन चार हजार ४ सय ८५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
निर्देशनालयको तथ्याङ्क अनुसार एसइई परीक्षा–२०८१ को तुलनामा यसवर्ष एक हजार २६७ विद्यार्थी कम छन् । यसअघि ८८ हजार ८ सय ५८ विद्यार्थी एसइई परीक्षामा सहभागी थिए ।
परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बताउँदै निर्देशक महतोले परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिमार्फत निरीक्षण तथा अनुगमन गरिने बताए ।
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायको समन्वयमा प्रदेशस्तरीय अनुगमन टोली गठन गरी परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने तयारी गरिएको उनले थपे ।
यता, एसइई परीक्षा–२०८२ शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न यही चैत १२ गते जनकपुरधाममा अभिमुखिकरण कार्यक्रम गरिने भएको छ । आठै जिल्लाका शिक्षा तथा समन्वय इकाईका प्रमुख लगायत सरोकारबालाहरुको सहभागीता रह्ने उक्त अभिमुखिकरण कार्यक्रममा परीक्षाको तयारीबारे जानकारी गराइने निर्देशक महतोले बताए ।
