ओ पी साह
जनकपुरधाम, १२ चैत
बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको “नागरिक समाज सबलीकरण परियोजना” सम्बन्धी परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम बिहीबार जनकपुरधाममा सम्पन्न भएको छ। कार्यक्रममा बाल अधिकारको वर्तमान अवस्था, चुनौती तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।
सबल नेपाल को आयोजनामा तथा नागरिक समाज सबलीकरण परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगकी उपसचिव रंजिता साह ले बालबालिकाको हक–अधिकार सुनिश्चित गर्न राज्य र नागरिक समाजबीच सशक्त सहकार्य आवश्यक रहेको बताइन्। उनले भनिन्, “बाल अधिकार केवल कानुनी व्यवस्था मात्र होइन, यसको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षको सक्रिय भूमिका जरुरी हुन्छ।”
उनले यस्ता परियोजनाहरूले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै स्थानीय तहमा बालमैत्री योजना निर्माण, निगरानी र मूल्याङ्कनमा नागरिक समाजको सहभागिता अझै मजबुत बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा सहभागीहरूले बाल अधिकार संरक्षणका क्षेत्रमा देखिएका प्रमुख चुनौतीहरू—बालश्रम, बालविवाह, शिक्षा पहुँचको अभाव तथा हिंसाजन्य घटनाहरू—बारे चर्चा गर्दै समाधानका उपायहरू प्रस्तुत गरेका थिए। साथै, समुदायस्तरमै जनचेतना अभिवृद्धि, अभिभावक तथा सरोकारवालाको क्षमता विकास, र बालमैत्री वातावरण निर्माण मार्फत बाल अधिकार उल्लंघन न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका वन अधिकृत राम युगल साह, प्रदेश समन्वय अधिकृत संजिव महतो, वरिष्ठ महिला विकास अधिकृत निर्मला मिश्र, महिला विकास अधिकृत दीपिका कर्ण, इन्सेक का प्रदेश संयोजक राजु पासवान तथा नील हिरा समाज का प्रतिनिधि प्रदीप कुमार यादवलगायत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार उक्त परियोजनामार्फत स्थानीय तहमा बाल अधिकार सम्बन्धी सचेतना विस्तार, सरोकारवाला बीच समन्वय अभिवृद्धि तथा दीगो रूपमा बालमैत्री समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको हो।
