मो.इर्शाद
महोत्तरी, २६ चैत्र
मटिहानी नगरपालिका वडा नं. ६ मा ‘सपोर्ट नेपाल’ को आयोजना, जर्मन संस्था KURVE Wustrow को सहयोग तथा वडा कार्यालयको सहकार्यमा बिहीबार एक विशेष भेलाका बीच ‘टोल विकास संस्था’ विधिवत रूपमा गठन गरिएको छ।
सहनी टोलमा आयोजित उक्त कार्यक्रममा टोलको सर्वाङ्गिण विकासका लागि विभिन्न ६ वटा महत्वपूर्ण प्रस्तावहरूमा छलफल गरी सर्वसम्मतिले निर्णयहरू पारित गरिएको हो। बैठकले टोलको सीमाना स्पष्ट पार्दै कार्यक्षेत्र समेत तोकेको छ।
विकास प्रक्रियामा कोही पनि नछुटुन् भन्ने उद्देश्यका साथ यस क्षेत्रभित्र बसोबास गर्ने दलित, अल्पसंख्यक र सीमान्तकृत लगायत सबै स्थानीयलाई समेट्ने गरी पूर्ण समावेशी संस्था बनाउने ऐक्यवद्धता जनाइएको छ।
संस्थालाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
नवगठित समितिले अब संस्थाको विधान निर्माण, पारित र दर्ता प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।
वडा अध्यक्ष कालिम अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडा सदस्यहरू,स्थानीयहरू, सपोर्ट नेपालका महोत्तरी जिल्ला संयोजक प्रकाश ठाकुर, धनुषा जिल्ला संयोजक शत्रुघ्न महतो लगायत सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।
आयोजक संस्थाले यस टोल विकास संस्थाको गठनसँगै सहनी टोलमा विकास निर्माणका कार्यहरूले थप गति लिने र स्थानीय समस्याहरूको सामूहिक रूपमा समाधान हुने ठूलो विश्वास लिएको छ। यो कदमले स्थानीय स्तरमा सुशासन र सहभागितामूलक विकासको नयाँ अभ्यास सुरु गर्ने अपेक्षा गरिएको छ।
