मो.इर्शाद
महोत्तरी,२८ चैत्र
नगरपालिका ले सञ्चालन गर्दै आएको “मेयर लोकसेवा कक्षा” अन्तर्गत सहभागी परीक्षार्थीहरूलाई निःशुल्क पुस्तक वितरण गरिएको छ। शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूलाई आवश्यक पाठ्यसामग्री हस्तान्तरण गरिएको हो।
नगरपालिकाको पहलमा सञ्चालित उक्त कक्षामा अध्ययनरत युवाहरूलाई लोक सेवा आयोग को द्वितीय पत्रको तयारीका लागि आवश्यक पुस्तकहरू उपलब्ध गराइएको बताइएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्तो सहयोगले आफ्नो अध्ययनलाई सहज र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाका अनुसार आर्थिक अभावका कारण धेरै विद्यार्थीहरू आवश्यक पुस्तक तथा अध्ययन सामग्रीबाट वञ्चित हुने अवस्था रहेको हुँदा यस कार्यक्रममार्फत उनीहरूलाई सहयोग पुर्याउने प्रयास गरिएको हो। यसका साथै, युवाहरूलाई सरकारी सेवाप्रति आकर्षित गर्दै प्रतिस्पर्धात्मक परीक्षामा सफल बनाउने दीर्घकालीन लक्ष्यका साथ “मेयर लोकसेवा कक्षा” सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उनीहरूले यस्ता शैक्षिक तथा प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
जलेश्वर नगरपालिकाले आगामी दिनमा पनि लोकसेवा तयारी गर्ने विद्यार्थीहरूका लागि विभिन्न सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ।
