सूचनाको विपरित भर्ना अभियान र कक्षा संचालन गरेको पाइएमा नियमानुसार कारवाही समेत हुने
पवनकुमार साह
जनकपुरधाम, ७ बैशाख
जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत शिक्षा,युवा तथा खेलकुद विकास शाखाको शाखा प्रमुख अन्जु पाण्डेयले सोमबार एउटा सूचना जारी गर्दै सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई शैक्षिक सत्र २०८३ को लागि बैशाख १५ गतेदेखि भर्ना अभियान तथा कक्षा संचालन गर्न कडा निर्देशन दिनु भएको छ ।
शाखा प्रमुख पाण्डेयको यो अद्वितिय निर्देशनले जनकपुरधाम उपमहानगर भित्र विद्यालय संचालन सम्बन्धी देखिएको अन्योलता हटेसँगै अभिभावक,विद्यार्थी, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा नीजि विद्यालयका संचालकहरुमा खुशियाली देखिएको छ ।
शाखा प्रमुख पाण्डेयको यो अनुकुल निर्णयले नीजि विद्यालयसँग आबद्ध अभिभावक,विद्यार्थी तथा नीजि विद्यालयका छाता संगठनसँगै संचालकहरु वीच सकारात्मक संदेश गएको कुरा मधेस प्याब्सनको जिल्ला अध्यक्ष सुजित मिश्रले बताउनु भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको २०८२ साल चैत्र २२ गतेको निर्णयानुसार श्री शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको च.नं. ६७ मिति २०८२ साल चैत्र १६ गतेको निर्णय कार्यान्वयन सम्बन्धी पत्र बमोजिम नगर शिक्षा समितिको २०८२ साल चैत्र ३० गतेको निर्णयबाट यस उपमहानगरभित्रका विद्यालयहरु सुचारु हुने भएको व्योहोरा शाखा प्रमुख पाण्डेयको हस्ताक्षरित पत्रमा लेखिएको छ । विभिन्न प्रबद्र्धनात्मक तथा रचनात्मक शैक्षिक कार्यहरु गर्न गराउन तथा सूचनाको विपरित भर्ना अभियान र कक्षा संचालन गरेको पाइएमा नियमानुसार कारवाही समेत हुने पत्रमा लेखिएको छ ।
