दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ३१ वैशाख
मधेस प्रदेशसभाका सभामुख रामआशिष यादव ले कुपोषण न्यूनीकरण तथा मातृ–शिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य निर्देशनालयद्वारा लालगढमा आयोजित तीनदिने ‘प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन’को समापन समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले पोषणको विषय केवल स्वास्थ्य क्षेत्रसँग मात्र सीमित नरही शिक्षा, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक चेतनासँग प्रत्यक्ष जोडिएको बताए।
उनले मधेस प्रदेशमा अझै पनि बालबालिका तथा महिलामा कुपोषण गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि दीर्घकालीन नीति, व्यावहारिक योजना तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिए।
मधेस प्रदेशसभा अन्तर्गत महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपाकुमारी यादव ले महिलाको स्वास्थ्य, बालअधिकार तथा पोषण सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताइन्। उनले ग्रामीण तथा विपन्न समुदायमा अझै पनि पोषणसम्बन्धी चेतनाको अभाव देखिएको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरी व्यापक चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरिन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव ले पोषण र जनसङ्ख्याबीच प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै जनसङ्ख्या वृद्धि, गरिबी, अशिक्षा तथा असन्तुलित खानपानका कारण कुपोषणको समस्या चुनौतीपूर्ण बन्दै गएको बताए।
तीनदिने सम्मेलनमा पोषण, मातृ तथा शिशु स्वास्थ्य, किशोरी पोषण, जनसङ्ख्या अवस्था, खाद्य सुरक्षा तथा पोषणमैत्री नीति कार्यान्वयनलगायत विषयमा पाँच वटा कार्यपत्र प्रस्तुत गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
