दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ३१ वैशाख
महिला क्रिकेटको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेल क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले “शहिद कप महिला क्रिकेट लिग प्रतियोगिता २०८३” गुरुवारदेखि जनकपुरधाममा सुरु भएको छ। प्रतियोगिता रजोलस्थित श्रीराम जानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गरिएको हो।
मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानु को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशिल साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, मधेश प्रदेश खेलकुद परिषद्का कार्यकारिणी सदस्य लव अधिकारी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा मधेश प्रदेश खेलकुद परिषद्का प्रशासनिक प्रमुख मोहम्मद ज्याउल इस्लाम, तालिम तथा प्रशिक्षक विभाग प्रमुख भरत यादव, परिषद्सँग आबद्ध अजित मिश्रा लगायत खेल क्षेत्रसँग सम्बन्धित प्रमुख व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक तथा मधेश प्रदेश खेलकुद परिषद्का सदस्य दिपेन्द्र कुमार गोइत ले महिला क्रिकेटलाई प्रदेशस्तरबाट राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे ले स्वागत मन्तव्य व्यक्त गर्दै महिला खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
सात दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा धनुषा र महोत्तरीबीच भएको प्रतिस्पर्धामा महोत्तरी विजयी भएको आयोजकले जनाएको छ। त्यसैगरी दोस्रो खेलमा सप्तरी र सिरहाबीच भएको प्रतिस्पर्धामा सिरहाले जित हात पारेको छ।
प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाका महिला क्रिकेट टोलीहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार प्रतियोगिताले महिला क्रिकेटप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
