मधेशमा समावेशी शिक्षा प्रवर्द्धनका लागि प्रदेशस्तरीय कार्यशाला – Jaleshwortoday

मधेशमा समावेशी शिक्षा प्रवर्द्धनका लागि प्रदेशस्तरीय कार्यशाला

 June 11, 2026  
3

दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, जेष्ठ २६

बालिका, अपाङ्गता भएका तथा अन्य सीमान्तकृत समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित बालिका तथा समावेशी शिक्षा सञ्जाल (जिआइईएन) सदस्यहरूको प्रदेशस्तरीय क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यशाला जनकपुरधामको सीताशरण होटेलमा सम्पन्न भएको छ।
युरोपेली संघको आर्थिक सहयोगमा पिपुल इन निड, एकाउन्टबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला संघ तथा राष्ट्रिय शिक्षा अभियान नेपालको साझेदारीमा सञ्चालित ‘एक्सेस’ परियोजनाअन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, मधेश प्रदेशको नेतृत्वमा कार्यशाला आयोजना गरिएको हो।
शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशका उपसचिव उज्ज्वल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय गाउँपालिका महासंघकी उपाध्यक्ष तथा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता साह र धोबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रदेश जिआइईएन फोकल पर्सन दिलीप मुखियाले गरेका थिए।
कार्यशालामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी शिक्षाको अवधारणा, जिआइईएनको उद्देश्य, संरचना र कार्यप्रणाली, सदस्यहरूको भूमिका, स्थानीय शिक्षा योजना तथा बजेट प्रक्रियामा सञ्जालको एकीकरण, विद्यालय–स्थानीय तह–प्रदेश तहबीचको समन्वय, स्रोत परिचालन र दिगोपनालगायत विषयमा विस्तृत छलफल गरिएको थियो। साथै जिआइईएनको प्रभावकारी कार्यान्वयन र विस्तारका लागि कार्ययोजना निर्माणसमेत गरिएको आयोजकले जनाएको छ।
मधेश प्रदेशमा लैङ्गिक असमानता, सामाजिक बहिष्करण तथा विभिन्न संरचनागत अवरोधका कारण समावेशी र गुणस्तरीय शिक्षामा पहुँच अझै चुनौतीपूर्ण रहेको सन्दर्भमा विद्यालय, स्थानीय तथा प्रदेश तहमा जिआइईएनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी प्रशिक्षक अनिता कुमारी यादव, एकाउन्टबिलिटी ल्याब नेपालका कार्यक्रम अधिकृत अमरेश यादव, पिपुल इन निडकी प्रादेशिक संयोजक सुनिता बोहरा, प्रदेश जिआइईएन सदस्यहरू, साझेदार स्थानीय तहका उपप्रमुख तथा शिक्षा अधिकृतहरू, युवा परामर्श बोर्डका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसहित करिब ४० जनाको सहभागिता रहेको थियो।
कार्यशालाको सहजीकरण पिपुल इन निडकी जिआइईएन नेतृत्वकर्ता विना बलाल तथा प्रदेश जिआइईएन फोकल पर्सन दिलीप मुखियाले गरेका थिए।
कार्यशालाबाट सहभागीहरूले समावेशी तथा लैङ्गिक उत्तरदायी शिक्षासम्बन्धी ज्ञान, सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै जिआइईएनको संस्थागत विकास, स्थानीय स्वामित्व, प्रभावकारी समन्वय तथा दिगोपनाका लागि आवश्यक रणनीति र कार्ययोजना तय गरेका छन्। यसले बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सीमान्तकृत समूहका बालबालिकाको शिक्षामा पहुँच, सहभागिता र सिकाइ उपलब्धि सुधार गर्न स्थानीय तथा प्रदेश सरकारको प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।