एकडारामा युवा नेतृत्वमा विद्यालय दिवा खाजा सम्मेलन सम्पन्न – Jaleshwortoday

एकडारामा युवा नेतृत्वमा विद्यालय दिवा खाजा सम्मेलन सम्पन्न

 August 25, 2026  
1

मो. इर्शाद

महोत्तरी, ८ भाद्र

एकडारा गाउँपालिकामा विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले युवा नेतृत्वमा विद्यालय दिवा खाजा सम्मेलन सम्पन्न भएको छ।

​IRDS, बर्दिबास र वल्र्ड भिजन इन्टरनेसनल नेपाल को सहयोग तथा एकडारा गाउँपालिकाको समन्वयमा गाउँपालिकाका युवा नेतृत्वमार्फत सञ्चालित चार दिने तालिमको अन्तिम दिन सोमबार (२०८३ जेठ ८ गते) एकडारा गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालय, एकडाराबेलामा उक्त सम्मेलन आयोजना गरिएको हो।

​सम्मेलनमा विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय तथा रैथाने खानेकुराको प्रवर्द्धन गर्दै सम्भव भएसम्म स्थानीय उत्पादनको प्रयोग गर्नुपर्नेमा विशेष जोड दिइएको थियो। स्थानीयस्तरमा उत्पादन हुने पोषणयुक्त खाद्यवस्तुको प्रयोगले बालबालिकाको स्वास्थ्य तथा शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने सहभागीहरूले बताएका थिए।

​कार्यक्रममा विद्यालय दिवा खाजा कार्यक्रमलाई सफल पार्न शिक्षक, विद्यार्थी र अभिभावकको समान रूपमा महत्वपूर्ण भूमिका रहने विषयमा समेत गहन छलफल भएको थियो। दिवा खाजालाई केवल खाना वितरणमा मात्र सीमित नराखी यसलाई स्थानीय उत्पादन, पोषण, स्वास्थ्य र समुदायको सहभागितासँग जोडेर अघि बढाउनुपर्नेमा सहभागीहरूको एकमत थियो।

​सो अवसरमा रूपान्तरण समूहका युवाहरूले दिवा खाजासम्बन्धी विभिन्न जनचेतनामूलक सामग्री तथा स्थानीय रैथाने खाद्य परिकारको प्रदर्शनीसमेत गरेका थिए।
प्रदर्शनीमार्फत स्थानीय खाद्यवस्तुकोपोषणतत्व, महत्त्व र विद्यालय तहमा त्यसको प्रयोग गर्ने तरिकाबारे जानकारी गराइएको थियो।

​श्री माध्यमिक विद्यालय एकडाराबेलामा आयोजित उक्त सम्मेलनमा एकडारा गाउँपालिका–१ का वडाध्यक्ष मनोज कुमार मण्डल, स्वास्थ्य शाखा संयोजक महेन्द्र कुमार मण्डल,वल्र्ड भिजन इन्टरनेसनल नेपाल महोत्तरीका जिल्ला संयोजक दिलीप कुमार यादव,शिक्षा शाखा प्रमुख,विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, IRDS का प्रतिनिधिहरु,सञ्चारकर्मी,विद्यार्थि तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।