राकेशप्रसाद चौधरी
महोत्तरी, २३ असोज
जिल्ला हुलाक कार्यालय महोत्तरी जलेश्वरले सरसफाई, बिरामीलाई फलफूल वितरण तथा कर्मचारी तथा पत्रकारलाई सम्मान गर्दै १५२ औं विश्व हुलाक दिवस मनाएको छ ।
विश्व हुलाक दिवसको अवसरमा जलेश्वरस्थित जिल्ला हुलाक कार्यालयको सभाहँलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख हुलाक अधिकृत रामचन्द्र साहले दोसल्ला तथा सम्मानपत्रका साथ पिपरा पालिका हुलाक कार्यालयबाट खरिदार विजयकुमार चौधरी, जिल्ला हुलाक कार्यालयबाट खरिदार शोभा पराजुली, वर्दिवास हुलाक कार्यालयबाट हलकारा अनिता महतो, गौशाला हुलाक कार्यालयबाट हलकारा विजय यादव तथा अतिरिक्त हुलाकबाट ब्रम्हदेव सिंह,रामदिनेश यादव, खुबलाल रजक, दयासिन्धु झा तथा जिल्ला हुलाक कार्यलयको सहयोगी कल्पना कुमारी साह लाई सम्मान गरेका छन् । सम्मानित हुने अन्यमा अवकाशप्राप्त कर्मचारी मिनादेवी कर्ण, देवशरण यादव, जीतनारायण पाण्डे,गौरीशंकर साह, दिपक तिवारी छन् ।
सोही अवसरमा कार्यक्रमका प्रमख अतिथि वरिष्ठ पत्रकार तथा लेखक राकेशप्रसाद चौधरीलाई हुलाकको प्रचारप्रसारमा योगदान पुर्याएवापत सम्मान गरिएको हो ।
विश्व हुलाक दिवसको अवसरमा तीनदिवसीय कार्यक्रम आयोजना गर्न जिल्ला हुलाक कार्यालयमा कार्यरत खरिदार सतिशकुमार महतोको संयोजकत्वमा तीन सदस्यीय तयारी समिति गठन गरिएको कार्यालय प्रमुख साहले बताएका छन् ।
तीन दिवसीय कार्यक्रमको पहिलो दिन कार्यालयको सरसफाई तथा दोस्रो दिन प्रादेशिक अस्पताल जलेश्वरमा उपचार गराइरहेका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो । कार्यालयमा तीनदिनसम्म दिपावली गरिनुका साथै कर्मचारीहरूले कार्यालय प्रमुख साहलाई दोसल्ला तथा मायाको चिनाे प्रदान गरेका थिए।
