माछा उत्पादनमा आत्मनिर्भर धनुषा, बजार विस्तारमा चुनौती – Jaleshwortoday

माछा उत्पादनमा आत्मनिर्भर धनुषा, बजार विस्तारमा चुनौती

 October 9, 2026  
4

ओम प्रकाश साह
जनकपुरधाम, २३ असोज

धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछाले स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान बनाएको छ। गत वर्ष दुई अर्ब रुपैयाँभन्दा बढी मूल्यको माछा भारतलगायतका विदेशी बजारमा निर्यात भएको कार्यलय प्रमुख,वरिष्ठ कृषि अधिकृत राम सोगारथ साहले बताएका छन्। तर उत्पादन पछिको भण्डारण र बजार व्यवस्थापन कमजोर हुँदा यस क्षेत्रको सम्भावनालाई थप विस्तार गर्न चुनौती देखिएको छ।

राष्ट्रिय आवाज सँग आज शुक्रबार भएको विशेष अन्तरवार्तामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ धनुषाका कार्यालय प्रमुख साहले मत्स्यपालनले जिल्लाको कृषि अर्थतन्त्र, रोजगारी र किसानको आम्दानीमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए।

उनका अनुसार जनकपुरधामको माछा स्वाद र गुणस्तरका कारण प्रसिद्ध छ। माछा उत्पादनमा धनुषा देशकै दोस्रो स्थानमा रहेको उल्लेख गर्दै उनले व्यावसायिक मत्स्यपालन प्रति किसानको आकर्षण बढ्दै गएको बताए।

* ६ हजार ७२५ हेक्टरमा कृषि कार्यक्रम

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको विवरणअनुसार धनुषा र महोत्तरीमा सञ्चालित जोन तथा सुपरजोन कार्यक्रमअन्तर्गत हालसम्म ६ हजार ७२५ हेक्टर क्षेत्रमा कार्यक्रम विस्तार भएको छ। कार्यक्रमबाट ४१ हजार ४५२ जना लाभान्वित भएका छन् भने ६३ हजार ८७२ रोजगारी सिर्जना भएको विवरणमा उल्लेख छ।

कार्यक्रमअन्तर्गत ९६४ वटा सिँचाइ प्रणाली निर्माण गरिएका छन्। त्यस्तै, १ हजार ८७४ हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ। मत्स्यपालनतर्फ ४९१ हेक्टर क्षेत्रमा माछापोखरी विस्तार गरिएको छ भने वार्षिक माछा उत्पादन ९ हजार ५६४ मेट्रिक टन पुगेको छ।

कृषि कार्यमा यान्त्रिकीकरण बढाउन कार्यक्रममार्फत १ हजार १८४ वटा कृषि मेसिन वितरण गरिएको छ। यसले कृषि उत्पादनमा प्रविधिको प्रयोग बढाउन तथा श्रम र समय बचत गर्न सहयोग पुर्याइएको कार्यक्रमको विवरणमा उल्लेख छ।

* भण्डारण र बजार व्यवस्थापन कमजोर

माछा उत्पादन र निर्यातको विस्तारले धनुषाको कृषि क्षेत्रको आर्थिक सम्भावना बढाएको छ। तर उत्पादन बढेसँगै माछाको उचित भण्डारण, प्रशोधन, ढुवानी र बजार व्यवस्थापनको आवश्यकता पनि बढेको छ।

कार्यक्रमको विवरणअनुसार उत्पादन पछिको भण्डारण प्रविधि अपनाउने दर ४.७ प्रतिशत मात्र छ। यसले उत्पादित माछाको गुणस्तर कायम राख्न, नोक्सानी घटाउन र किसानले उचित मूल्य पाउने वातावरण बनाउन थप पूर्वाधार आवश्यक रहेको देखाउँछ।

माछा छिट्टै बिग्रन सक्ने कृषि उपज भएकाले शीत भण्डारण, प्रशोधन केन्द्र र व्यवस्थित ढुवानीको अभावले किसानलाई बजारसम्म उत्पादन पुर्याउन कठिनाइ हुन सक्छ। त्यसैले उत्पादन बढाउने कार्यक्रमसँगै बजार सुनिश्चितता र उत्पादन पछिको व्यवस्थापनमा पनि लगानी बढाउनुपर्ने देखिन्छ।

धनुषाको माछाले विदेशी बजारमा स्थान बनाउनु जनकपुर धाममा, धनुषा जिल्लाको कृषि क्षेत्रका लागि अवसर हो। तर उत्पादनलाई दिगो बनाउँदै किसानको आम्दानी बढाउन गुणस्तर नियन्त्रण, शीत भण्डारण, प्रशोधन र बजार पहुँच सुधारमा जोड दिन आवश्यक छ। यी पूर्वाधार विस्तार गर्न सके मत्स्यपालन क्षेत्रले स्थानीय रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्याउन सक्छ।