चार पुस्तादेखिको बसोबास हटाउन खोजिएको दलित परिवारको आरोप, निष्पक्ष छानबिन र न्यायको जोडदार माग – Jaleshwortoday

चार पुस्तादेखिको बसोबास हटाउन खोजिएको दलित परिवारको आरोप, निष्पक्ष छानबिन र न्यायको जोडदार माग

 August 27, 2026  
22

दिपक श्रेष्ठ मण्डल
जानकपुरधाम, ११ भदौ

सबैला नगरपालिका–४, पर्साही गाउँस्थित नहर चोकमा चार पुस्तादेखि बसोबास गर्दै आएको एक दलित परिवारले आफ्नो घरबासबाट विस्थापित गर्न खोजिएको आरोप लगाएको छ। परिवारले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा स्थानीय राम प्रकाश यादवले आफ्नो नाममा दर्ता गराई घरजग्गा खाली गर्न दबाब दिइएको भन्दै निष्पक्ष छानबिन र न्यायको माग गरेको छ। पीडित परिवारका अनुसार उनीहरूका पुर्खा लक्ष्मी महरालाई गाउँमा मरेका तथा छाडिएका पशु व्यवस्थापन गर्ने जिम्मेवारीका लागि स्थानीयस्तरमा सर्वसम्मतिले बसोबासका लागि उक्त स्थान उपलब्ध गराइएको थियो। त्यसपछि लक्ष्मी महराका छोरा सहदेव महरा हुँदै उनका सन्तान सुरेश महरा, रामबाबु महरा तथा पछिल्ला पुस्ताका राकेश, राहुल र दिपेश महरासम्मका परिवार सोही स्थानमा बसोबास गर्दै आएको उनीहरूको दाबी छ। परिवारका अनुसार पुस्तौँदेखि घर बनाएर बसोबास तथा भोगचलन गर्दै आएको उक्त जग्गा करिब दुई दशकअघि स्थानीय रामप्रसाद यादवले आफ्नो नाममा दर्ता गराएको आरोप छ। परिवारले आफ्नो पुरानो बसोबास, भोगचलन र स्थानीयस्तरमा भएको निर्णयलाई बेवास्ता गरी जग्गासम्बन्धी प्रक्रिया अघि बढाइएको दाबी गरेको छ। पीड़ित परिवारका पुनम देवी महराका अनुसार उनका श्रीमान् रामबाबु महरा हुन् र उनीहरूका तीन सन्तान छन्। आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारले दैनिक गुजारा चलाउनसमेत कठिन भइरहेको अवस्थामा पुस्तौँदेखि बस्दै आएको घरबास गुम्ने अवस्था आएपछि थप संकटमा परेको जनाएको छ। त्यस्तै, अर्का पीड़ित पुनम देवीकी जेठानी दाना देवी महराले पनि आफ्नो परिवार चार–पाँच पुस्तादेखि सोही स्थानमा बसोबास गर्दै आएको दाबी गरिन्। उनका श्रीमान् सुरेश महरा विगत चार वर्षदेखि वैदेशिक रोजगारीमा अल्पत्र रहेको परिवारले जनाएको छ। आर्थिक अभावका कारण दाना देवीको परिवारसमेत कठिन परिस्थितिमा जीवनयापन गरिरहेको बताइएको छ। पीडित परिवारका अनुसार हाल रामप्रसाद यादवले सम्बन्धित निकायमा निवेदन दिई घरजग्गा खाली गर्न दबाब दिइरहेका छन्। पुस्तौँदेखि बस्दै आएको घरबासबाट विस्थापित हुनुपर्ने अवस्था आए आफूहरू कहाँ जाने भन्ने चिन्ताले परिवारलाई सताएको जनाएको छ। परिवारले जग्गाको वास्तविक अवस्था, स्वामित्व, पुरानो भोगचलन तथा बसोबाससम्बन्धी प्रमाण र स्थानीयस्तरमा भएका निर्णयको निष्पक्ष रूपमा जाँच गर्न माग गरेको छ। साथै, दलित तथा आर्थिक रूपमा विपन्न परिवारलाई पुस्तौँदेखिको घरबासबाट विस्थापित गर्ने अवस्था सिर्जना नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। परिवारले नेपाल सरकार, राष्ट्रिय दलित आयोग तथा सम्बन्धित स्थानीय निकायसँग विवादित जग्गाबारे निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न र कानुनसम्मत रूपमा न्याय दिलाउन माग गरेको छ। अदालत वाट जगाको सत्य तथ्य बुझनको लागी ग्राउंड जीरोमा आएको टोलीले पनी रामप्रसाद यादव संग मिलोंमतोमा आफ़ू खुशी एकतर्फी बयान लिएकोले आफ़ूहरु मीडिया लाई गुहार लगाएको परिवारले जनाएको छ। यता, रामप्रसाद यादवको पक्षबाट भने उक्त आरोपबारे प्रतिक्रिया प्राप्त हुन बाँकी रहेको छ। आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी रहेकाले जग्गाको स्वामित्व तथा दर्तासम्बन्धी विषय सम्बन्धित सरकारी अभिलेख र कानुनी प्रक्रियाबाटै यकिन हुने देखिन्छ।