महोत्तरी कारागारबाट बाढीपीडितलाई राहत,कैदीबन्दीद्वारा एक लाख राहत प्रदान – Jaleshwortoday

महोत्तरी कारागारबाट बाढीपीडितलाई राहत,कैदीबन्दीद्वारा एक लाख राहत प्रदान

 August 31, 2026  
2

मो. इर्शाद

महोत्तरी, १५ भाद्र

भोटेकोशीको विनाशकारी बाढीबाट जनधनको क्षति बेहोरेका रसुवा लगायतका पीडितहरुका लागि महोत्तरी कारागारका कैदीबन्दीहरुले आज एक लाख एक हजार एकसय पाँच रुपैया राहत प्रदान गरेका छन् ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारमा कैदी जीवन बिताउँदै आएका ४५६ जना कैदीबन्दीहरुले आफू कारागारमा रहेर दुःखी जीवन बिताउँदै आएपनि रसुवाका विनाशकारी बाढीबाट दुःखी भएका परिवारलाई राहत स्वरुप सम्पूर्ण कैदीहरुको तर्फबाट एक लाख एक हजार एकसय पाँच रुपैया राहत प्रदान गरिएको जेलर अशोककुमार क्षेत्रीले बताउनुभयो ।

जलेश्वर कारागारका भित्री प्रशासन प्रमुख चन्द्रदीप यादवको अगुवाई एवम् चौकीदार नाईके संजय साह पहलमा सम्पूर्ण कैदीबन्दीहरुको स्वेच्छिक चन्दा संकलन गरेर बाढीपीडितहरुका लागि राहत भनेर आज जलेश्वर स्थित राष्ट्रिय बाणिज्य बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.१ लाख १ हजार १०५ रुपैया जम्मा गरिएको कारागार कार्यालय महोत्तरीका खरिदार रविनचन्द्र ठाकुरले बताउनुभयो ।

कैदीहरु नारायण थापा र पवन लामाले आफूहरु सम्पूर्ण कैदीबन्दीहरुलाई यस बाढीले देश र देशबासीहरुलाई पुर्‍याएको क्षति अपूर्णीय रहेको बताउँदै सम्पूर्ण कैदीहरुको तर्फबाट सानो सहयोग स्वरुप रु.१ लाख १ हजार १०५ रुपैया प्रदान गरेको बताए ।

यसैबीच कारागारका जेलर क्षेत्रीले महोत्तरी कारागारका कैदीबन्दीहरुले बाढीपीडितहरुको लागि आर्थिक सहयोग गरेर उनीहरुको घाउमा मल्हम लगाउने काम गरेको र कैदीबन्दीको यस राहत प्रदान गरेको कार्यले जलेश्वर कारागार तथा कैदीबन्दीहरुको जीवनलाई गर्व गर्ने लायक बनाएको बताउनुभयो ।

भोटेकोशीका बाढीपीडितका लागि महोत्तरीको सदरमुकाम जलेश्वरबाट कैदीबन्दीहरुले पनि राहत पठाएको सम्भवत् देशभरिमै कैदीबन्दीहरुको तर्फबाट यो पहिलो राहत हो ।