जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १७ भदौ
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रधाममन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख बढी रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख ३८ हजार १३४ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार उक्त रकममध्ये नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट ७ लाख ११ हजार ५०० रुपैयाँ, कर्मचारीको तर्फबाट ६ लाख ८ हजार ६९४ रुपैयाँ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तर्फबाट ८ लाख १७ हजार ९४० रुपैयाँ रहेको छ ।
नगरपालिकाले भदौ १० गते तिब्बत–नेपाल सीमा क्षेत्रबाट भोटेकोशी नदी हुँदै आएको अभूतपूर्व बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति भाद्र ११ गते नै शोक प्रकट गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली,सम्बन्धीत परिवारमा हार्दिक समबेदना र घाइतेहहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिसकेको जानकारी नगर प्रमुख राम दुलार साह,प्रमुख प्रशासकीय अधिकृत डा.लोकनाथ भुसाल र लेखा अधिकृत नरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सँयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तो प्राकृतिक विपदबाट प्रभावित व्यक्ति,परिवार र समुदायको उद्धार,राहत र पुनस्र्थापना गर्ने नेपाल सरकारको प्रयासमा होतमालो गर्नु वायुमण्डलमा अत्यधिक हरितगृह ग्याँसहरु उत्सर्जन गर्ने पक्षहरु र राज्यका सबै निकायहरुको नैतिक तथा मानवीय जिम्मेबारी र कर्तव्य रहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले सबैलाई यस बिपदसँग लड्न आग्रह गर्नु भयो । नगरपालिकाका अनुसार कर्मचारी तथा शिक्षक–कर्मचारीबाट संकलित रकम उनीहरूको सेवा सुविधाबाट निश्चित दिनको तलब कट्टा गरी योगदान गरिएको हो ।
अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरबाट पाँच दिन र श्रेणीविहीन सहयोगीस्तरबाट दुई दिनको तलब योगदान गरिएको छ ।
त्यसैगरी, माध्यमिक तहका शिक्षकबाट सात दिन, आधारभूत तहका शिक्षकबाट पाँच दिन तथा सहयोगी कार्यकर्ता र कर्मचारीबाट दुई दिनको तलब योगदान गरिएको नगरपालिकाले जनाएको छ ।

