मो. इर्शाद
महोत्तरी, १३ असोज
महोत्तरी, असोज १३ गते । महोत्तरीको सोनमा गाउँपालिकामा जडानको प्रतीक्षामा रहेका दुईवटा नयाँ कृषि ट्रान्सफर्मर एकै रात चोरी भएपछि किसानको सिँचाइ समस्या झन् गम्भीर बनेको छ। करिब तीन महिनादेखि जडानको प्रतीक्षामा रहेका ट्रान्सफर्मर चोरी भएपछि स्थानीय किसान निराश भएका छन्।
सोनमा गाउँपालिका–६ निवासी अशोककुमार यादवका अनुसार गाउँपालिकाको वडा नं. २ र ६ मा जडानका लागि राखिएका दुवै नयाँ ट्रान्सफर्मर असोज ९ गते राति चोरी भएका हुन्। ट्रान्सफर्मर जडान भएपछि विद्युतमार्फत सिँचाइ सहज हुने आशामा रहेका किसान चोरीको घटनापछि थप समस्यामा परेका छन्।
यादवले ट्रान्सफर्मर चोरी भएपछि गाउँमा रहेका अन्य ट्रान्सफर्मरसमेत चोरी हुन सक्ने जोखिम बढेकाले सुरक्षाका दृष्टिले केही ट्रान्सफर्मर खोलेर सुरक्षित स्थानमा राखिएको बताए।
समयमै वर्षा नहुँदा धान खेती प्रभावित भइरहेका बेला सिँचाइका लागि विद्युत सेवा सञ्चालन हुने आशामा रहेका किसानलाई ट्रान्सफर्मर चोरीले थप निराश बनाएको छ। स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
सोनमा गाउँपालिकाका युवा सीयाशरण मण्डलका अनुसार भौतिक पूर्वाधार कार्यालय, महोत्तरीको करिब ४५ लाख रुपैयाँ लागतमा सोनमा गाउँपालिकाका विभिन्न वडामा ट्रान्सफर्मर जडान गर्ने योजना रहेको थियो। करिब तीन महिनादेखि विद्युत सेवा सञ्चालनका लागि पहल भइरहेका बेला जडानको प्रतीक्षामा रहेका ट्रान्सफर्मर चोरी भएको उनले बताए।
मण्डलका अनुसार असोज ६ गते स्थानीयले महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा भौतिक पूर्वाधार कार्यालयमा पुगेर जडान भइसकेका ट्रान्सफर्मरबाट विद्युत सेवा तत्काल सञ्चालन गर्न माग गर्दै डेलिगेसन दिएका थिए। तर, डेलिगेसन दिएको तीन दिनमै जडानका लागि राखिएका दुई ट्रान्सफर्मर चोरी भएको उनको भनाइ छ।
कृषि प्रयोजनका लागि विद्युत सेवा सञ्चालन हुने प्रतीक्षामा रहेका किसानका लागि ट्रान्सफर्मर चोरी गम्भीर समस्या बनेको मण्डलले बताए। उनले घटनामा सम्बन्धित निकायको लापरवाही हुन सक्ने आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
यसैबीच, मंगलबार तीन दर्जनभन्दा बढी स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालय पुगेका छन्। उनीहरूले चोरी भएका दुवै ट्रान्सफर्मर तत्काल खोजी गरी फिर्ता ल्याउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, प्रभावित क्षेत्रमा तत्काल नयाँ ट्रान्सफर्मर जडान गर्न, जडान भइसकेका ट्रान्सफर्मरबाट तत्काल विद्युत सेवा सञ्चालन गर्न तथा अन्य ट्रान्सफर्मरको सुरक्षा व्यवस्था मजबुत बनाउन माग गरेका छन्।
भौतिक पूर्वाधार कार्यालय महोत्तरीका प्रमुख रामकिशोर साहले घटनाको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको बताए। उनले नयाँ ट्रान्सफर्मर जडानका लागि हाल बजेट अभाव रहेको जानकारी दिँदै जडान भइसकेका ट्रान्सफर्मरबाट विद्युत सेवा सञ्चालन गर्ने प्रयास भइरहेको बताए।
केही दिनभित्रै विद्युत सेवा सञ्चालन हुने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुनु दुःखद् भएको साहले बताए।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार पोखरेलले घटनाको तत्काल छानबिन गरी दोषी पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचार गरिएको जानकारी दिए।
प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा महोत्तरी जिल्लामा मात्रै २८ वटा ट्रान्सफर्मर चोरीका घटना भएका छन्। पछिल्लो घटनाले कृषि क्षेत्रमा विद्युत सेवा विस्तार र ट्रान्सफर्मरको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।
