जनकपुरधाममा दसैँ पूजाको तयारी तीव्र, सुरक्षामा सयौँ स्वयंसेवक खटाइने: श्रीराम युवा कमिटीका अध्यक्ष विजय कुमार – Jaleshwortoday

जनकपुरधाममा दसैँ पूजाको तयारी तीव्र, सुरक्षामा सयौँ स्वयंसेवक खटाइने: श्रीराम युवा कमिटीका अध्यक्ष विजय कुमार

 October 9, 2026  
3

ओपी साह
जनकपुरधाम, २३ असोज

जनकपुरधामको श्रीराम चोकस्थित बौद्धिमाई र अमरखाना माता मन्दिरमा यस वर्ष पनि दसैँ पूजा भव्य र व्यवस्थित रूपमा मनाइने भएको छ। श्रीराम युवा कमिटीले विगत ३६ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको दसैँ पूजालाई यस वर्ष थप व्यवस्थित र सुरक्षित बनाउने तयारी गरेको छ।

कमिटीका अध्यक्ष विजयकुमार साहले कुराकानीमा पूजाका क्रममा भक्तजनको सहज आवागमन र सुरक्षालाई प्राथमिकता दिइने बताए। त्यसका लागि कमिटीका सयौँ स्वयंसेवक परिचालन गरिने र प्रहरी प्रशासनसँगको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था मिलाइने उनले जानकारी दिए।

हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व विजयादशमीअन्तर्गत असोज २५ गते आइतबार घटस्थापनासँगै दसैँ पूजा सुरु हुने जनाउँदै साहले श्रद्धालु भक्तजनलाई अनुशासित र सुरक्षित रूपमा पूजाआजामा सहभागी हुन आग्रह गरे।

अध्यक्ष साहले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण नगरवासी, श्रद्धालु भक्तजन र देशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरे।