विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने – Jaleshwortoday

विश्व बैंकले नेपाललाई १६ अर्ब अनुदान दिने

 March 26, 2023  
ff

 

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १२ चैत्र

विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ ।

विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो । यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

यसले नयाँ संघीय राज्यको महत्वकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको दृष्टिकोणलाई समेत समर्थन गर्ने उनको भनाइ छ । यो अनुदान कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने समेत विश्व बैंकले जनाएको छ । साथै छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने भएको छ ।