एसीसी यू-१६ इष्ट जोन कप क्रिकेटमा थाइल्याण्डमाथि नेपालको २२५ रनको जित – Jaleshwortoday

एसीसी यू-१६ इष्ट जोन कप क्रिकेटमा थाइल्याण्डमाथि नेपालको २२५ रनको जित

 June 28, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ असार

एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटमा नेपालले थाइल्याण्डमाथि २२५ रनको विशाल जित हात पारेको छ । नेपाललाई जिताउन ब्याटिङतर्फ निरजकुमार यादव तथा नरेन भट्ट र बलिङतर्फ सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गरे ।

मलेसियाको यूकेएम वाईएसडी क्रिकेट ओभलमा बुधबार सम्पन्न ३५ ओभरको खेलमा नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १३.२ ओभरमा ४४ रनमै समेटियो ।

नेपालले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गर्न सक्यो । कमजोर विपक्षी थाइल्याण्डविरुद्ध बलिङमा सुरुदेखि नै हावी भएको नेपालले थाइ ब्याटरहरुलाई लामो समयसम्म क्रिजमा टिक्न दिएनन् ।

थाइल्याण्डले ८.३ ओभरमा ३६ रन बनाउँदा तीन विकेटमात्र गुमाएको थियो । तर, बाँकी पाँच ओभरमा ८ रन थप्दा बाँकी ७ विकेट खेर फाल्यो ।

थाइल्याण्डका इशान बेनर्जीले सर्बाधिक १६ तथा दानुफोन फुआङयोटपिनिटले १२ रन बनाए ।

नाटपाखन मनोवनले ४ रन बनाउनुबाहेक थाइल्याण्डका ८ जना ब्याटरले रनको खाता खोल्नै सकेनन् । उसले १२ अतिरिक्त रन पाएको थियो ।

थाइल्याण्डको पारी ध्वस्त पार्न नेपालका सन्तोष यादवले शानदार बलिङ गरे । उनले ३.२ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिए ।

अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिशेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रनको योगफल खडा गरेको थियो । नेपालका लागि सूर्यांशु कोइराला र निरजकुमार यादवले ११० रनको सुरुवाती साझेदारी गरी नेपालको इनिङ बलियो पारेका थिए । निरजले ४३ बलमा ७४ रनको शानदार अर्धशतकीय पारी खेले । सूर्यांशुले ४० रन जोडे । मध्यक्रमका नरेन भट्टले ४३ बलमा अविजित ५५ रन बनाए ।

सन्तोष यादवले ३६ बलमा ४२ रनको योगदान गरे ।

बलिङमा थाइल्याण्डका इशान बेनर्जी, फनुवाट देशुङनोन र नटपाखन मनोवनले २–२ विकेट लिए ।

प्रतियोगितामा नेपाली टिम थाइल्याण्ड र मलेसियासँगै समूह ए मा परेको छ ।

सात टोली सम्मिलित प्रतियोगिताको समूह बीमा सिंगापुर, हङकङ, माल्दिभ्स र इण्डोनेसिया छन् ।

नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग शुक्रबार खेल्नेछ । एसीसीले इस्ट्रन रिजनल प्रतियोगिताको नामबाट आयोजना गरेको यस्तै प्रतियोगिताको उपाधि नेपालले सन् २०१७ र २०१९ मा गरी दुईपल्ट जितेको थियो ।