फलफूल बजारका लागि गुठीको जग्गा, व्यवसायी संघसँग २० वर्षे सम्झौता – Jaleshwortoday

फलफूल बजारका लागि गुठीको जग्गा, व्यवसायी संघसँग २० वर्षे सम्झौता

 August 14, 2026  
1

ओपी साह
जनकपुरधाम, २९ साउन
जनकपुरधाममा व्यवस्थित फलफूल बजार सञ्चालनका लागि गुठी संस्थानले जग्गा उपलब्ध गराउने सम्बन्धमा जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघसँग २० वर्षे सम्झौता गरेको छ।

शुक्रबार गुठी संस्थान केन्द्रीय कार्यालयका प्रशासक र जनकपुरधाम फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष विशेश्वर यादव बीच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार जनकपुरधाम उपमहानगरपालिका–१२, कुवा रामपुरमा रहेको गुठीको २ बिघा २ कठ्ठा २ धुर जग्गा फलफूल बजार सञ्चालनका लागि २० वर्षका लागि उपलब्ध गराइएको छ।

उक्त जग्गाको वार्षिक भाडा ११ लाख ५५ हजार ५६५ रुपैयाँ कायम गरिएको छ। सम्झौताअनुसार संघले सोही जग्गामा व्यवस्थित फलफूल बजार सञ्चालन गर्नेछ।

सम्झौताबारे जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका सल्लाहकार नवीन शाहले जानकारी दिएका हुन्। उनका अनुसार बजार सञ्चालनमा आएपछि हाल विभिन्न स्थानमा छरिएर भइरहेको फलफूल तथा तरकारीको व्यापारलाई व्यवस्थित गर्न सहयोग पुग्नेछ।

नयाँ बजारमा व्यवसायीका लागि आवश्यक पूर्वाधार तथा उपभोक्तालाई सहज हुने व्यवस्था मिलाउने संघको तयारी छ। व्यवस्थित बजार सञ्चालन भएपछि व्यापारिक गतिविधि नियमन गर्न तथा बजार क्षेत्रमा हुने अव्यवस्था कम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फलफूल तथा तरकारी व्यवसायी संघले बजार सञ्चालनसँगै व्यवसायी र उपभोक्ता दुवैको हितलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गर्ने जनाएको छ।

कुवा रामपुरमा नयाँ बजार सञ्चालनमा आएपछि जनकपुरधामको फलफूल तथा तरकारी व्यापार थप व्यवस्थित हुने, व्यवसायीलाई व्यापार गर्न सहज हुने र उपभोक्ताले पनि एउटै स्थानबाट आवश्यक सामग्री खरिद गर्न पाउने अपेक्षा गरिएको छ।