अल्लु अर्जुनले हैदराबादको रामोजी फिल्म सिटीमा थाले ‘पुष्पा २’ को छायांकन – Jaleshwortoday

अल्लु अर्जुनले हैदराबादको रामोजी फिल्म सिटीमा थाले ‘पुष्पा २’ को छायांकन

 August 6, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ श्रावण

अल्लु अर्जुनका फ्यान लामो समयदेखि ‘पुष्पा २’ लाई उत्सुकतासहित पर्खिरहेका छन् । केही महिनाअघि सुरु भएको फिल्मको छायांकन सेटमा  आइतबारदेखि अल्लु अर्जुन सहभागी भएका छन् ।

अल्लुलाई लिएर निर्माताले भारतको हैदराबादमा छायांकन थालेका हुन् । स्थानीय रामोजी फिल्म सिटीमा अल्लुसहितका अन्य कलाकारले छायांकन सेट ज्वाइन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतका विभिन्न स्थानमा छायांकन पूरा गरेपछि निर्माताले हैदरावादमा ‘पुष्पा २ द रुल’को नयाँ कार्यतालिका थालेको फिल्म निकट स्रोतले जनाएको छ । नयाँ तालिकाको प्रि-प्रोडक्सनको काम सकिएको छ ।

कलाकारले रामोजी फिल्म सिटीमा ‘पुष्पा २’ को केही महत्वपूर्ण दृश्यको छायांकन गर्ने स्रोतले जानकारी दिएको छ । यसका लागि त्यहाँ आलिशान सेट निर्माण गरिएको छ । दर्शकलाई भव्य भिजुअल ट्रीटको महसुस गराउन निर्माताले कुनै कसर बाँकी राखेका छैनन् ।

‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । यसमा अल्लु अर्जुनबाहेक फहद फासिल र रश्मिका मन्दाना पनि थिए । दुवै अब ‘पुष्पा २’ मा पनि देखिनेछन् । ‘पुष्पा २’ मा विजय सेतुपति पनि रहने बताइएको छ ।

निर्माताले अप्रिल २०२३ मा अल्लु अर्जुनको जन्मदिनमा ‘पुष्पा २’ को टिजर सार्वजनिक गरेका थिए, जसले फ्यानलाई उत्साहित तुल्याएको थियो । टिजरमा पुष्पराज जेलबाट भागेर कसरी बेपत्ता भएका छन् भन्ने देखाइएको छ । उनलाई आठवटा गोली लागेको थियो । उक्त टिजर हेर्दा दर्शकलाई पुष्पाको मृत्यु भयो भन्ने लाग्न सक्छ । जबकि जंगली जनावरका लागि जडान गरिएका क्यामेरामा उनी जंगलमा कैद हुन्छन् ।