- प्रा.पवन कुमार साह
मिथिलाञ्चलबासीले अहिले विवाहपञ्चमीको तयारीमा जुट्न आवश्यक रहेको देखिन्छ । हामी केहि दिनको लागि त्रेता युगमा प्रवेश गरेका छौं । यो हाम्रो सौभाग्य हो । हामी जनकपुरधामबासी वर्षेनी यो अनुपम दुष्यलाई नजिकैबाट नियालेर हर्षित भई यो आनन्द एक अर्कासँग साट्छौं । भारतको अयोध्या अर्थात भगवान रामको घरबाट पनि वर्षेनी जनकपुरधाममा जन्ती आउँने क्रम जारी नै छ । अहिले जानकी मन्दिरलाई बेहुली झै सजाइएको छ । हाम्रो पनि दाँयित्व हो की आफ्नो घर वरपरलाई सफा सुग्घर राखौं । विशेष गरी भिठामोर,जटही,जयनगर नाकाबाट भारतीय पर्यटकहरु आउने गर्दछन् । त्यसकारण ती नाकाहरुमा विशेष स्वागत ढोका निर्माण गर्न आवश्यक छ । उत्तरतर्फबाट पनि पर्यटकहरुको आगमन हुने गरेकाले त्यतातिर पनि स्वागत ढोका निर्माण गर्न आवश्यक छ । जनकपुरधाममा जन्तीमा आउने श्रद्धालुहरुलाई आवश्यक सेवा तथा सत्कार गर्नु हाम्रो दाँयित्व हो । विवाहपञ्चमीमा खास गरेर यहाँका होटेल तथा लाँज खचाखच भरेको हुनाले उचित दस्तुर लिनु नै राम्रो हुने देखिन्छ । होटेल व्यवसायीहरुले समेत शाकाहारी खाना मिथिलाको परिकार सहित तयार गरेर उचित मुल्य लिनु पर्दछ । यता यातायात अन्तर्गत ब्याट्रि रिक्सा र वसले समेत अनुचित भाडा नलिई यहाँको चलनचल्तिको भाडा नै लिई सहयोग गर्न आवश्यक रहेको देखिन्छ । मेलाको बेलामा सुरक्षा व्यवस्था समेत चुस्तदुरुस्त राख्न आवश्यक हुन्छ । यतिबेला खास गरेर शौचालय व्यवस्थापनको अति नै समस्या हुने भएकोले पर्याप्त शौचालयको व्यवस्थापनमा कमी गर्नु हुदैन । यस वर्ष जाडो बढेको कारण बाह्रविघा मैदानमा निःशुल्क बास सहितको न्यानो कपडा,खाना,औषधी तथा स्वास्थ्य सेवा,पेय जलको व्यवस्थापन गर्न गराउन तथा स्थानिय संघसंस्थाहरुले सहभागिता जनाउन आवश्यक रहेको देखिन्छ । माता सीता र भगवान रामको विवाहले नेपाल र भारत वीचको सम्बन्ध त्रेता युगदेखि नै अहिलेसम्म प्रगाढ रहेको छ । यस वर्ष विवाहपञ्चमीलाई अझै आकर्षक बनाउनको लागि ११ हजार वर्गफिटको अन्नको मुर्ति बनाउन थालिएको हो । यस मूर्तिको निर्माणले गिनिज कितावमा विश्व रेकर्ड बनाउन सकिने छ । विश्वमा यसले जनकपुरधामको पहिचान दिने आयोजकको विश्वास रहेको छ । अहिले भारत लगायत विभिन्न ठाउँबाट पर्यटकहरुको आउँने क्रम जारी छ । मंसिर २६ गते मंगलबारदेखि संचालन भएको विवाहपञ्चमी पुष २ गते सोमबार समापन हुने छ ।
