- प्रा.पवन कुमार साह
२०८० को विवाहपञ्चमीमा जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह विश्व हिन्दु परिषद नेपालले गराएको छ । खास गरेर मधेस प्रदेशमा दाइजो बिना विवाह असम्भ रहेको परिवेशमा विश्व हिन्दु परिषद नेपालले विगत ५ वर्षदेखि दहेजमुक्त विवाह गराएकोमा अभिभावकहरुमा हर्ष तथा खुशीयाली देखिएको छ । विवाह २ आत्माको मेल हो र यस कार्यमा सघाउने विश्व हिन्दु परिषद नेपाल पक्कै पनि सम्मानको लायक देखिन्छ । अहिले आर्थिकमन्दीको बखत केटाकेटीको विवाह गर्न गराउन ज्यादै नै मुस्किल रहेको अवस्थामा २१ जोडीको सामुहिक विवाहको व्यवस्थापन र आयोजन आफैमा एक अद्भुत तथा अद्वितीय काम देखिन्छ । जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दु परिषद नेपालले सोमबार साँझ २१ जोडीको सामूहिक विवाह सम्पन्न गराएको हो । परिषदकै खर्च व्यवस्थापनमा उनीहरुको मैथिली परम्परा अनुसार साँझ स्वम्बर तथा राति विवाह सम्पन्न भएको थियो ।
प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, वेहुलीको ९ सेट साडी, सृंगारपटार, वेहुलाको पैन्टसर्ट, धोतीकुर्ता लगायत एक सेट भान्छा कोठाको सामान, एक ओछ्यानको तोसक, तकिया, जाजिम लगायतको सम्पूर्ण सामान, बेहुला र बेहुली पक्षबाट २५–२५ जनाको खाजाखाना समेत व्यवस्थापन परिषदले गरेका छन् । नेपालको कानुन अनुसार उनीहरु सबैको नागरिकताको आधारमा २० वर्ष पुगेका बेहुला र बेहुलीको मात्र विहे गराइएको थियो । विवाह गर्नु अघि वेहुलाहरुलाई दिउँसो रथमा नगरपरिक्रमा गराइएको थियो । एक जोडीको विहेको व्यवस्थापनमा ८०–८५ हजार रुपैयाँ खर्च भएको छ भने परिषदले यो खर्च आर्थिक सहयोग संकलन गरी जुटाएको हुन्छ ।
जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजन गर्ने गरेको आयोजक बताउँछन् । विवाहपञ्चमीको अवसरमा परिषदले बिगत पाँच वर्षदेखि सामुहिक विवाहको कार्यक्रम गराउँदै आएको छ जुन सराहनीय सावित भएको छ । भारतको शौराठ मेलामा समेत यस किसिमको विवाहको आयोजना गरिन्छ तर नेपालमा खास गरेर मधेसलाई लक्षित गरेर यस किसिमको सामुहिक दहेजमुक्त विवाहले पक्कै पनि दहेजलाई निरुत्साहित गरी यहाँको कुरिति लाई समाधान गर्न सहयोग गर्ने देखिन्छ । कन्या दान सबै भन्दा पुण्यको काम भएकोले परिषदको प्रशंसा जति गरे पनि कम हुने छ ।
