जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ आषाढ
धनुषाबाहेकका जिल्लाहरुमा इस्लाम धर्मावलम्वीहरूले सोमबार बकर इद धुमधामका साथ मनाएका छन् ।
मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकरइद धनुषा बाहेकका जिल्लाहरुमा सोमबार नै मनाएको हो । जनकपुरधामसहित धनुषा जिल्लामा भने बकर इद मंगलबार मनाउने भएको छ ।
बकरइदको अवसरमा नेपाल सरकारले सोमबार नै सार्वजनिक विदा दिएको छ । खाडी मुलुक सउदी, कतार, कुवेत, यूएईसहितका देशमा आइतबार नै बकरइद (इद उल अजहा) पर्व मनाए पनि नेपालमा सोमबार मनाउने भएपछि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
प्रत्येक वर्ष झै इस्लामिक महिना जिलहिजाको दशमी तारिखदेखि १३ तारिखसम्म तीन दिन यो पर्व मनाइन्छ । जिलहिजा इस्लामिक क्यालेन्डरको अन्तिम महिना रहेको र यो महिनामै आर्थिक रुपमा सम्पन्न संसारभरिका मुस्लिम हज गर्न सउदीको मक्का मदिना जाने गर्छन् ।
बकरइदको पर्वको पहिलो दिन इस्लाम धर्माबलम्बीहरू नमाज पढी एक–अर्कालाई अंगालो हाल्दै बक्रिद मुवारख भनेर शुभकामना अदान–प्रदान गर्छन् । बकरइदको नमाज समाप्तीपछि उनीहरूले कुर्वानी अर्थात बली प्रदान गर्छन् । इस्लामका धर्मगुरुहरूका अनुसार कुर्वानी भनेको कुनै खास जनावरलाई कुनै खास उद्देश्यका लागि अल्लाहको राहमा अर्थात् अल्लाहकै लागि जवह गर्नु (बली प्रदान गर्नु) भन्ने बुझिन्छ । कुर्वानीका लागि उनीहरूले पहिलेदेखि नै स्वस्थ्य, आकर्षक जनावर खसी बोका, बाँझो बाख्री पाल्ने गर्छन् । र बकरइदमा त्यसको बली दिने गर्छन् ।
बजारभन्दा घरमै पालेर जानवरको बली प्रदान गर्दा धार्मिक हिसाबले उत्तम मानिन्छ । कुर्वानी गरिएको जानवरको मासु तीन हिस्सामा बाँडी एक हिस्सा गरिव विपन्न, एक हिस्सा नातेदारलाई वित्तरण गरी एक हिस्सा मात्रै आफ्ना लागि राख्ने चलन छ ।
आर्थिक रुपमा समपन्न तथा साढे सात तोल सुनभन्दा बढी सम्पत्ति भएको मुसलमानलाई कुर्वानी दिनु अनिवार्य गरिएको इस्लाम धर्मगुरु मौलनाहरू बताउँछन् । बकरइद पर्वमा कुर्वानी हजरत इब्राहिम अलैहिसलामको सुनत रहेको छ ।
‘इस्लामका प्रमुख नवीमध्येकका हजरत इब्राहिम अल्हेसलाम राति सुतेको बेला सपनामा कुर्वानी गरेको देख्छन् । अल्लाहले हजरत इब्राहिम अल्हेसलामलाई तिमि आफ्नो सबभन्दा प्रियलाई मेरो लागि कुर्वानी गर भनेर तीन दिनसम्म सपनामा देख्छन् । त्यसपछि हजरत इब्राहिम अल्हेसलामले बुढेसकालमा पाएको छोरालाई नै मेरो लागि सबैभन्दा प्रिय रहेको र अल्लाहले छोराको बली नै मागेको भन्दै छोरा हजरत इश्माइल अल्हेसलामलाई कुर्वानी दिने तयार हुन्छन् ।’
‘सपनामा अल्लाहले आदेश गरेअनुसार हजरत इब्राहिम अल्हेसलामले आफ्ना प्रिय छोरा हजरत इश्माइललाई नुहाइधुवाई गरी सफासुग्घर गरी नयाँ कपडा लगाई दिएर गाउँभन्दा पर कुर्वानी दिनका लागि लग्छन् । बाटोमा सैतानहरूले हजरत इश्माइललाई तिम्रो बुबा हजरत इब्राहिमले तिमिलाई कुर्वानी (बली) दिनका लागि लगिरहेको भनिदिन्छन् । बुबाको योजना थाहा पाएपछि छोरा खुसी हुँदै भन्छन्, अल्लाहले मागेपछि मेरो बुबाले म मात्रै होइन, उहाँको अन्य सन्तान भएको खण्डमा पनि उनीहरूलाई कुर्वानी दिदाँ पनि कम हुन्थ्यो । अल्लाहका लागि मेरो कुर्वानी बुबाले दिन लाग्नु भएकोमा म धेरै खुसी छु भन्दै सैतानहरूलाई हप्काएर जवाफ पर्काउछन् ।’
‘त्यसपछि हजरत इश्माइल अल्हेसलामले बुबालाई भन्छन्, बुबा मलाई कुर्वानी दिने बेलामा तपाईं आफ्नो आँखा कपडाले छोप्नु होला । यसो गर्दा तपाईंलाई मेरो प्रति दया जागेर आउँदैन र तपाईं मलाई बली प्रदान गर्न सक्नुहुन्छ । छोराको यति कुरो सुनेपछि हजरत इब्राहिम अल्हेसलाम छोराको गलामा गला मिलाइ रुन थाल्छन् । तर पछि हजरत इश्माइलले बुवालाई सम्झाई बुझाई गरी आफ्नो बली दिन राजी गराउँछन् ।’
‘हजरत इब्राहिमले आफ्नो ज्यानभन्दा प्रिय एक्ला छोराको घाँटीमा जति छुरा रेटे पनि काटिरहेको हुँदैन । त्यतिबेला हजरत इब्राहिम अल्हेसलामले अल्लाहलाई स्मरण गर्दै भन्छन्, या अल्लाह म आफ्नो ज्यानभन्दा प्रिय एक्ला छोरालाई तिम्रा लागि कुर्वानी दिइरहेको छु । तिमि यसलाई कबुल गर ।’
‘त्यसपछि नेपथ्यबाट अल्लाहको अवाज आउँछ, इब्राहिम तिमिले दिएको कुर्वानी मैले कबुल गरिसकेँ, तिमि आफ्नो आँखा खोल । आँखा खोलेपछि छोरा इश्माईलको ठाउँमा दुम्बाको कुर्वानी भएको हुन्छ । अल्लाह भन्छन्, इब्राहिम म तिम्रो इमानको परीक्षण गरिरहेको छु । बुढेसकालमा तिमिलाई मैले नै दिएको छोरा मेरो राहमा कुर्वानी दिन्छौ कि दिदैनौ भनेर परीक्षण गरेको हुँ, तिमि त्यसमा पास भयौं । त्यसपछि बुबा छोरा घर फर्केछन् ।’ सोही घटनाको सम्झानामा संसारभरिका मुस्लिम सामुदायले प्रत्येक साल बकरइद पर्व मनाउने गरेको मौलनाहरू बताउँछन् ।
जनकपुरधामसहित आसपासका गाउँमा मंगलबार मात्र बकर इद मनाउने मुस्लिम अगुवा मो. असगर अलीले बताए ।
अलीका अनुसार आफूहरुले आइतबार साँझ चाँद नदेखेपछि आज(सोमबार) पर्व मनाउने कुरै भएन् । चाँद नदेखेसम्म इद पर्व मनाउन नसकिने भएकोले सोमबार होइन, मंगलबार आफूहरुले बकर इद मनाउने लोहनाका मो. इन्तेखाब आलमले बताए ।
