जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ आषाढ
लेखक उपेन्द्र दासद्वारा अनुबादीत पुस्तक संक्षिप्त बुद्ध जीवनीको लोकापर्ण गरिएको छ । शनिवार तत्मा समाजको मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय तत्मा समाजको अध्यक्ष रामअशिष दासको अध्यक्षतामा अन्तर्राष्ट्रिय मगही परिषदको अध्यक्ष डा.वीर बहादुर महतोले संक्षिप्त बुद्ध जीवनी नामक किताबको बिमोचन गर्नु भएको थियो । कार्यक्रमको शुरुवात मैनवति प्रज्जवलन गरी अगाडी बढाइएको थियो । कार्यक्रममा राजेश महतो, भारतीय कलाकार मनकामना कुमारी,ई.भरत लाल महतो लगायतका युवा तथा महिलाहरुले मगही भाषामा कविता,गीत,गजल तथा समदान,जटजटिनका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रम रा.रा.ब.क्याम्पसको सहायक प्राध्यापक किरण साह,पत्रकार तथा कलाकार पुष्पा यादव,पत्रकार,बुद्धिजिवी तथा तत्मा समाजका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विभिन्न बक्ताहरुले लिखित किताब मगही भाषाको लागि पहिलो अनुबादित किताब रहेको ठम्याएका थिए भने कतिले यो किताबको माध्यमले भगवान बुद्धलाई अझै सजिलो तरिकाले बुझ्न सकिने बताएका थिए । लेखक उपेन्द्र दासले यो किताबमा अन्य लेख रचनामा भगबान बुद्धको बारेमा नलेखिएका तथा नछापिएका तथ्यहरु समेत समेटेकोले सबैलाई माया गरिदिन आग्रह गर्नु भएको थियो । साथै वहाँको यो तेस्रो लिखित किताब पछि चौथो कृतिको रुपमा मगही ग्रन्थ लेख्ने समेत उद्घोष गर्नुभयो ।
