जलेश्वरटुडे समाचारदाता
नारायणगढ, २९ श्रावण
नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने सिमलतालको पहिरोमा परी त्रिशूलीमा दुईवटा बस बगाएको एक महिना बितिसक्यो। असार २८ गते बिहान ३ बजेतिर त्रिशूलीमा पहिरोसँगै हेलिएका बस र अधिकांश यात्रु भने झैँ भेटिएका छैनन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतको गोताखोर टोलीले संयुक्तरुपमा खोज्दा पनि दुई बस नभेटिएका हुन्।
भारतीय टोली एक सातासम्म खोजेर फिर्ता भइसकेको छ। नेपाली जनशक्ति र प्रविधिले नभएपछि भारत सरकारलाई सहयोग मागेको थियो। नेपालले सहयोग मागेपछि भारतको १२ जनाको टोलीले साउन ६ गतेदेखि साउन १३ गतेसम्म खोजी गरेको थियो। भारतीय टोली फिर्ता भएपनि नेपाली टोलीले खोजी कार्यलाई भने अझै जारी राखेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।
सिमलतालको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं आउँदै गरेका बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस त्रिशूलीमा बगेका थिए। दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए।
दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा नारायणी किनारामा २४ जनाको मात्रै शव फेला परेको थियो। ती मध्ये २० जना यात्रुको मात्र शव पहिचान भएको छ। नारायणीमा फेला परेका चार वटा शवको अझै पहिचान हुन सकेको छैन। सनाखत नभएका शवमा चार जना पुरुष रहेका छन्। ४२ यात्रु अझै बेपत्ता छन्।
पानीको चाप अत्यधिक र नदी धमिलो भएकाले गहिराइसम्म बस र यात्रु खोज्न नसकिएको प्रशासनले जानकारी दिएको छ। उद्धार टोलीले त्रिशूली, नारायणीदेखि भारतसम्म पुगेर खोजी गरेको थियो। खोजीका क्रममा भारतमा समेत यात्रुका शव फेला परेका थिए। विशेष गरेर सिमलताल देखि केराबारीसम्मको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर खोजी कार्य अझै जारी राखेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन्।
