जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३२ श्रावण
मधेश प्रदेश सरकारले ल्याएको प्रादेशिक शिक्षा नीति २०८१ को प्रारम्भिक खाकाउपर शुक्रबार छलफल भएको छ । प्रादेशिक शिक्षा नीति तर्जुमा निर्देशक समितिको बैठकमा प्रारम्भिक खाकाउपर छलफल भएको हो ।
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीको अध्यक्षतामा बसेको बैठकमा शैक्षिक समस्याहरु समाधान गर्दै सबैका लागि गुणस्तरीय शिक्षाको अवसर सुनिश्चित गर्ने उद्येश्यले ल्याएको शिक्षा नीतिमाथि छलफल भएको छ ।
प्राम्भिक बालविकास, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, विद्यालयमा आधारभूत सुविधाको अवस्था, विद्यालय शिक्षामा सुशासन, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम लगायतको सूचक तोकेर मन्त्रालयले शिक्षा नीति ल्याउन लागेको हो ।
मधेश प्रदेशको शिक्षाको अवस्था विगतमा सन्तोषजनक रहे पनि हालका दिनहरुमा कमजोर हुँदै गएको तथ्यांकहरुले देखाएको छ ।
तिवारीले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै प्रादेशिक शिक्षा नीति २०८१ को खाका तयार गर्न लगाएर यस माथिको छलफल अगाडि बढाएकी हुन् ।
शिक्षा नीति बनाउने कार्यलाई गति दिनको लागि टास्क फोर्स समेत गठन गरिएको शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोले जानकारी दिए ।
मन्त्रीज्यूको निर्देशन अनुसार शिक्षा नीति २०८१ को प्रारम्भिक खाकाउपर छलफललाई अगाडि बढाइएको र केही दिन भित्रै यसले मुहूर्त रुप पाउने विश्वास सचिव महतोले व्यक्त गरे ।
छलफलमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, सदस्य शिला मिश्र लगायत विज्ञहरुको सहभागिता रहेको थियो ।
