विपदमा बाल संरक्षण सम्बन्धी तालिम सुरु – Jaleshwortoday

विपदमा बाल संरक्षण सम्बन्धी तालिम सुरु

 August 29, 2024  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १३ भाद्र

धनुषाको शहीदनगर नगरपालिकामा सरोकारबालाहरुको लागि विपदमा बाल संरक्षण सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम बिहीबारदेखि सुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।

विदेहनगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका सरोकारबालाहरुको सहभागिता रहेको तालिममा विपदको बेला बालबालिकाको संरक्षण गर्न अपनाउनुपर्ने सावधानी बारे जानकारी गराइएको हो ।

विपदमा परेका तथा पर्न सक्ने बालबालिकाको संरक्षणका लागि स्थानीय सरकार, गैरसरकारी संस्था, बाल क्लब, विद्यालय, व्यावसायिक संगठन, नागरिक समाज लगायत सबैको सहभागिता आवश्यक रहेको छ ।

प्राकृतिक वा मानवनिर्मित जुनसुकै विपद् हुँदा पनि बालबालिका बढी प्रभावित हुन्छन् र यस्तो अवस्थामा उनीहरुको स्याहार, संरक्षण, सुरक्षा, स्वास्थ्य, शिक्षा, खानपान आदिमा असर पर्छ । यसको परिणामस्वरुप धेरै बालबालिका अभिभावकविहीन भई घर छोडेर हिँड्न बाध्य हुन्छन् र उनीहरु बाध्यात्मक श्रममा संलग्न हुने, बेचबिखन तथा ओसारपसार र हिंसा तथा शोषणमा पर्ने जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा सरोकारबालाको भूमिका महत्वपूर्ण हुने गरेकाले उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारीले बताइन् ।