जितिया पर्वको अवसरमा शुभकामना आदान प्रदान – Jaleshwortoday

जितिया पर्वको अवसरमा शुभकामना आदान प्रदान

 September 20, 2024  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ असोज

मिथिलाञ्चलमा मनाउने जितिया पर्वको अवसर पारेर शुक्रबार महोत्तरीको जलेश्वरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीको प्रमुख आतिथ्यमा जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

महिला तथा बालबालिका उत्थान केन्द्र, मधेश प्रदेशले आयोजना गरेको सो कार्यक्रममा जितिया पर्वको महत्वबारे प्रकाश पारिएको थियो ।

सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै मनाउने यो पर्व मिथिलाञ्चलका महिलाहरुले मनाउने गरेका छन् ।

असोज कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेशका जिल्लामा धुमधामसाथ प्रत्येक वर्ष महिलाहरुले जितिया पर्व मनाउँदै आएका छन् । जितवाहन भगवानको उपवास बसेर सन्तानको सर्वाङ्गी विकासका साथै सुख सुविधाको कामना गर्दै जितिया पर्व मनाउने गरिन्छ ।

असोज कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व तराईका बस्तीहरुमा व्रत बसेर मनाउने गरिएको छ ।

जितिया पर्वको अवसर पारेर आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण लगायत महिला अगुवाहरुको उपस्थिति रहेका थियो ।