जितिया पर्व आजदेखि सुरु हुँदै – Jaleshwortoday

जितिया पर्व आजदेखि सुरु हुँदै

 September 22, 2024  
jitiya-1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ असोज

मधेशमा सन्तानको दीर्घायुका लागि मनाउन जितिया पर्व सोमबारदेखि विधिवत रुपमा सुरु हुने भएको छ ।

तीन दिनसम्म मनाइने जितिया पर्वको पहिलो दिन सोमबार नहाखा विधि गरिने भएको छ ।

व्रती महिलाहरु नजिकको जलाशयमा गएर स्नान गरी घिरौलाको पातमा तेल र पिना अर्पण गरेर यो विधि गर्ने गरेका छन् ।

मंगलबार एकाबिहानै जिमुतवाहन भगवानलाई च्युरा, दही लगायत फलफुलहरु अर्पण गरेर व्रतीहरु उपवास बस्ने छन् ।

मंगलबार साँझ फलफुल ग्रहण गरेर साँझ ६ बजेदेखि बुधबार दिउँसोसम्म उपवास बस्नुपर्ने आचार्य पण्डित संतोष पाण्डेयले बताए ।

पाण्डेयका अनुसार बुधबार दिउँसो ५ बजेर २० मिनेटपछि व्रतको पारण अर्थात समापन गरिने छ ।

मिथिला पञ्चाङ्ग अनुसार जितिया पर्व सोमबारदेखि बुधबारसम्म मनाउने भएको छ भने नेपालको पञ्चाङ्ग अनुसार मंगलबारदेखि बिहीबारसम्म जितिया पर्व मनाउने हो ।

मिथिलामा मिथिला पञ्चाङ्ग अनुसार नै व्रत हुने गरेकाले सोमबार नै नहाखा विधि गरिनुपर्ने आचार्य पण्डित पाण्डेयले बताए ।

आफ्ना सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै जितवाहन भगवानको आरधना गर्ने गरिन्छ ।

मधेशमा प्रत्येक वर्ष असोज कृष्ण पक्षको अष्टमी तिथिका दिन महिलाहरुले धुमधामकासाथ जितिया पर्व मनाउँदै आएका छन् । जितवाहन भगवानको उपवास बसेर सन्तानको सर्वाङ्गी विकासका साथै सुख सुविधाको कामना गर्दै मनाउने गरिन्छ ।

असोज कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व मनाउने गरिन्छ ।

व्रत बस्नुअघि व्रतालु महिलाहरुले नदी, तलाउ, खोला, पोखरीमा नुहाएर घिरौंलाको पातमा दही चिउरा चढाएर आफ्ना सन्तानको दीर्घ जीवनको कामना गर्छन ।