जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ असोज
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले २० वर्षपछि मात्रै विहेवारी गर्न नगरबासीलाई आग्रह गर्नुभएको छ ।
जलेश्वर नगरपालिकाद्वारा आज आयोजित ‘बालविवाह विरुद्ध वृहत्त अभियान’ कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै मेयर सोनारले नगरक्षेत्रका सम्पूर्ण अभिभावकलाई आ–आफ्ना बालबालिकाहरुलाई २० वर्षपछि मात्रै विहेबारी गर्न अनुरोध गर्नुभयो ।
त्यस्तै मेयर सोनारले नगरभित्रका वडा नम्बर १ देखि १२ सम्मका सम्पूर्ण बालबालिका, किशोरकिशोरी र युवायुवतिहरुलाई आफ्नो शरीर, स्वास्थ्य र भविष्यको खयाल गर्दै २० वर्ष नपुगुञ्जेल विहेवारी नगर्न सल्लाह दिनुभयो ।
मेयर सोनारले सोही कार्यक्रममा ‘बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविधि २०८०’ सार्वजनिक गर्दै आउँदो २०८४ मा जलेश्वर नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता पनि प्रकट गर्नुभयो ।
विगत २ वर्षदेखि जलेश्वर नगरक्षेत्रभित्र सेभ द चिल्ड्रेनको सहयोग र रतौली युवा क्लवको संयोजनमा बालविवाह विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालनमा रहेको तथा त्यस्ता कार्यक्रमले समाजमा प्रत्यक्ष असर पारेको उद्धृत गर्दै मेयर सोनारले जलेश्वर नगरपालिकाका विभिन्न वडाहरुले बालविवाह मुक्त नगरपालिका घोषणा गर्न विभिन्न सूचकहरु पार गरिसकेको कारण यसै महिनामा वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा गर्न गइरहेको समेत जानकारी गराउनुभयो ।
जलेश्वर नगरपालिकाले जिल्ला सदरमुकाम जलेश्वरको जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको ‘बालविवाह विरुद्ध वृहत्त अभियान’ कार्यक्रममा नगरका प्रत्येक वडाबाट अभिभावक, बालबालिका, किशोरकिशोरी र युवायुवतिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । साथै रतौली युवा क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी, सेभ द चिल्ड्रेनका प्रतिनिधि र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का वडा अध्यक्ष रामछविला यादवले गर्नुभएको थियो ।
