यस वर्ष असाध्यै गर्मीपछि आएको अविरल वर्षाका कारण देशभरी विभिन्न ठाउँहरुमा ठूलो जनधनको क्षतिको साथै मान्छे बेपत्ता भएको छ । यस परिवेशमा कार्यवाहक प्रधानमन्त्रीको कार्यालय आपतकालिन बैठक बसी देशभरका सबै विद्यालय तथा विश्वविद्यालयका परीक्षाहरु रोक्न निर्देशन दिएको छ भने शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका ७५३ वटै पालिकाहरुलाई ३ दिन आइतबारदेखि मंगलबारसम्म ुस्थानिय तहका सबै विद्यालयहरु बन्द गर्न आग्रह गरेका छन् भने महानगर काठमाडौंले मात्र आइतबार विद्यालयहरु बन्द गरेर सरसफाई गरी विद्यालय संचालन गर्न निर्देशन दिएको छ । यता मधेस प्रदेशका पर्सा,सिरहा तथा सप्तरी संकट क्षेत्र घोषणा भएको छ भने महोत्तरी तथा धनुषा जिल्लाहरुमा समेत बाढीको प्रभाव देख्न सकिन्छ । त्यसकारण अहिले पानीको मुहान नजिकका घर परिवारहरुलाई अन्यत्र सरी ज्यान जोगाउन आवश्यक रहेको देखिन्छ भने स्थानिय पालिकाहरु तथा प्रदेश सरकारले समेत जनधनको सुरक्षाको लागि अहोरात्र खट्न तथा सहयोग लिन आवश्यक रहेको देखिन्छ । जिल्ला विपद व्यवस्थापन समिति,नागरिक समाज,विभिन्न संघसंस्था,रेडक्रस,मानव अधिकार कर्मी,पत्रकार तथा सुरक्षा निकायले विशेष पहल गर्न आवश्यक रहेको देखिन्छ । मधेस प्रदेशका जिल्लाहरुमा विद्यालयहरु चलाउन सक्ने अवस्था ठीक रहेकोले समय र परिस्थिति हेरी बन्द तथा खोल्न सक्ने देखिन्छ । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ । कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ । नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको छ । ललितपुरको नख्खुवेसीबाट पनि ५ जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ । तसर्थ यस परिवेश आन्तरिक उडान समेत नागरिक उड्डयन प्राधिकरणले बन्द गरेको हुनाले समय सापेक्ष यस बाढी र पहिरोबाट आफू पनि बचौ र अरुलाई पनि बचाउन आवश्यक रहेको देखिन्छ ।
