जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ असोज
पिछडावर्ग महासभाद्वारा शनिवार विजया दशमी,शुभ दीपावली तथा छठ्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ ।
जनकपुरधाममा केन्द्रीय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा संचालन भएको कार्यक्रममा पिछडावर्ग महासभाको वरिष्ठ उपाध्यक्ष ईन्दु सिंह,महासचिव नथुनी महतो,पिछडावर्ग महासभाको केन्द्रीय सदस्य तथा शिक्षा शाखा प्रमुख प्रा.पवन कुमार साह,केन्द्रीय सदस्य प्रो.बालकेश्वर ठाकुर,अन्य केन्द्रीय सदस्यहरु,मधेस प्रदेशका आठै जिल्लाका जिल्ला अध्यक्ष तथा सदस्यहरुका उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सदस्यहरुले एकअर्कालाई शुभकामना आदानप्रदान गर्नुका साथै संगठन विस्तार,सबलीकरण तथा द्रुत गतिमा संगठनको कामहरु अगाडी बढाउन आवश्यक रहेको बताए ।
विभिन्न बक्ताहरुले पिछडावर्ग महासभाको प्रति सरकार गम्भीर नरहेको आरोप लगाए । अहिले पनि करिब ४४ वटा जातजातिहरुको अगुवाई गर्ने संगठन पिछडावर्ग महासभा रहेकोले यसको संरक्षण तथा विकासको लागि तीनै तहको सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।
केन्द्रीय सदस्य तथा पिछडावर्ग महासभाको शिक्षा शाखा प्रमुख प्रा.पवन कुमार साहले विजया दशमी,शुभ दीपावली तथा छठको शुभकामना दिदै शिक्षा क्षेत्रमा रहेको व्यापक अनियमितताको लागि जनकपुरधाम लगायत विभिन्न ठाउँहरुमा आफूले आवाज उठाउदै गरेको बताए । वहाँले शैक्षिक गुठी अन्तर्गत विद्यालय संचालन गर्न गराउनको लागि आफू पहल गरिरहेको बताए । पिछडावर्ग महासभाका सदस्यहरुले आफूहरु जुनसुकै पार्टीमा रहे पनि आफ्नो समुदायको समेत प्रतिनिधित्व गर्न गराउनको लागि पहल गर्न ध्यान दिन आवश्यक रहेको बताए ।
त्यसैगरी महासभाको केन्द्रीय अध्यक्ष राम कुमार महतोले यस संगठनको कार्यहरु गर्न गराउन हरदम तत्पर रहेको बताए । यस संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध स्थापित गर्न गराउन विभिन्न पहलहरु गर्दै आइरहेको बताए । अध्यक्ष महतोले २०८१ साल असोज ८ गते नै यस संस्थालाई सामाजिक कल्याण परिषद काठमाडौंमा दर्ता गराई सकेकोले अव यस संगठनले तिव्र गतिमा बढने तथा विभिन्न कार्यक्रमहरु संचालन हुने विश्वास दिलाउनु भयो । स्थानिय तथा प्रदेश स्तरमा पिछडावर्ग महासभाका प्रतिनिधिहरुले पालिकाहरुमा आफ्नो प्रतिनिधित्व जनाउन आवश्यक रहेको बताउनुभयो । विभिन्न कारणले यस महासभाको वार्षिक साधारण सभाको समय सार्नु परेको बताउनुभयो । दशैंपछि तुरुन्तै यस महासभाको साधारण हुने जानकारी अध्यक्ष महतोले राख्नुभयो । कार्यक्रममा उद्घोषण तथा कार्यक्रम संचालन महासभाको केन्द्रीय महासचिव नथुनी महतोले गर्नु भएको थियो ।
