जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ असोज
नवमी तिथिको अवसरमा देशभरी नौ जना कन्याको विधिपूर्वक पूजा गरिएका छन् ।
मधेस प्रदेशका आठ वटै जिल्ला सहित देशभरी विधिपूर्वक नौ कन्याहरुको पुजा गरिएका छन् । यस अवसरमा ती आमन्त्रित नौ कन्याहरुलाई विशेष आदर तथा भक्ति सहित भगवतिको रुपमा आस्था राखी तिनीहरुको खुट्टा सफा पानीले धोएर आँचलले सफा गर्ने आस्था रहेको छ । त्यसपछि खुट्टालाई रातो रंगले रंगेर कपाल बाँध्ने तथा नयाँ पोशाक समेत चढाउने चलन रहेको छ । यति गरी सकेपछि मिष्ठान,चावलको खीर,पुरी,तरकारी आदि खुवाएर कोसेली समेत दिएर विदा गर्ने चलन रहेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडेलले नौ कन्याहरूको पूजा गरेका हुन् । नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर देशभरी नै पुजाआजा गरिएका छन् ।
विजया दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो।
