पुरानो निर्णय बदर गर्दै महाधिवेशन जनपुरधाममा गर्ने अन्तिम निर्णय
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २९ असोज
नेपाल सद्भावना पार्टीलाई कब्जा गर्न खोज्ने पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहालाई नेपाल सद्भावना पार्टीको अध्यक्ष राम कुमार महतोले मंगलबार पत्रकार सम्मेलन गरी काउण्टर जवाफ दिएका छन् ।
नेसपाको अध्यक्ष महतोको अनुसार पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहा,पूर्व शिक्षा राज्य मन्त्री गोविन्द चौधरी तथा नेसपाको वरिष्ठ नेता सहजाद मियाँ मिकरानी लगायतका नेताहरुले पार्टीको महाधिवेशन विरगञ्जमा गर्ने भ्रामक प्रचार गरी महाधिवेशन संयोजक मात्र बनाइएको पूर्वमन्त्री कुशवाहाले आफू नै अध्यक्ष रहेको भ्रामक प्रचारबाजि मधेस प्रदेशका जिल्लाहरुमा गरी रहेको पाइएको कारण सो कार्यलाई गम्भीरतापूर्वक लिई सहि तथ्य सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन गरेको बताउनु भयो । अध्यक्ष महतोको अनुसार २०८१ साल आषाढ १४ गते विरगञ्जको निर्णय अनुसार नेसपाको राष्ट्रिय महाधिवेशन पूर्वमन्त्री कुशवाहाको संयोजकत्वमा ५९ सदस्यहरु सहितको महाधिवेशन आयोजक समिति गठन भई मंसिर १,२ र ३ गते विरगञ्जमा नै गर्ने महाधिवेशन गर्ने निर्णय भयो । त्यसपछि २०८१ साल असोज २२ गते जनकपुरधाममा बसेको कार्यकारिणी समितिको बैठकबाट राष्ट्रिय महाधिवेशनको स्थान विरगञ्जलाई परिवर्तन गरी मधेस प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि,मिथिला संस्कृति केन्द्रको सभा हाँलमा सातौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको बताउनुभयो । साथै सोहि बैठकबाट नेसपाको विधानमा महाधिवेशन प्रतिनिधि सम्बन्धी कुनै व्यवस्था नभएको कारण तथा प्रतिनिधिहरुको सामान्य काम ,कर्तव्य तथा अधिकार रहेकोले पूर्व शिक्षामन्त्री कुशवाहा,पूर्व राज्यमन्त्री चौधरी,वरिष्ठ नेता सरिता गिरी सहितको ५९ सदस्ययी महाधिवेशन आयोजक समिति समेत विघटन गर्नुका साथै गरिएका अन्य निर्णयहरु समेत सर्वसहमतिले बदर गरिएको बताउनुभयो । सोहि बैठकबाट नयाँ कार्यकारिणी समिति र कार्यसमिति निर्वाचित गर्नको लागि निर्वाचन अधिकृतको रुपमा अधिवक्ता रामचन्द्र महतो,सचिवको रुपमा ईन्दु सिंह र प्रवक्ताको रुपमा सुमन राई सहितको ३ सदस्ययी निर्वाचन समिति गठन गरीएको बताउनुभयो । यस निर्वाचन समितिबाट निर्वाचित सदस्यहरु नै अधिकारिक हुने तथा पुरानो २१ जनाको कार्यकारिणी समिति मध्ये ६ जनाले मात्र राजिनामा दिएको र बाँकी १५ जना अधिकारिक कार्यकारिणी सदस्यहरु जुन निर्वाचन आयोगमा समेत अपडेट छ, हामीहरुको पक्षमा रहेकोले हामीहरु बहुमतले नभई सर्वसहमतिले अधिकारिक व्यक्ति रहेको अध्यक्ष महतोले दाबि गर्नुभयो । अन्त्यमा अध्यक्ष महतोले आउँदो मंसिर १,२ र ३ गते जनकपुरधाममा हुने राष्ट्रिय महाधिवेशनमा सहभागि हुन सबै असन्तुष्ट आदरणीय नेताहरुलाई आग्रह गर्नु भयो । साथै सबै जनालाई निर्वाचनको प्रक्रियाबाट यथोचित स्थान पाएर काम गर्न तथा पार्टीलाई सबल बनाउनको लागि राष्ट्रिय महाधिवेशनलाई सफल पार्न आहवान गर्नु भयो ।
