जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ फागुन
जनकपुरधामको पवित्र आस्थाको केन्द्र जानकी मन्दिरको गर्भगृह जाने दक्षिणपट्टीको बाटो फलामको ढोकाले थुनेपछि भक्तजनहरुलाई दर्शन तथा पुजाआजा गर्नमा सास्ति भएको बुझिएको छ ।
जानकी मन्दिरको गर्भगृहमा जानको लागि तथा पुजाआजा गर्नको लागि पहिलेदेखि नै दक्षिण र उत्तर तिरबाट जाने बाटो खुल्ला गरिएको थियो ।
तर केहि दिनदेखि मानमहन्थ तपेश्वरदास तथा उनको चेला रोशन दास वीच आन्तरिक विवादका कारण उत्तरपट्टिको ढोका यथावत राखि दक्षिणपट्टीको ढोका फलामको बारले बन्द गरिएको कारण बिहान पुजाआजा तथा दर्शन गर्न ज्यादै नै समस्या भएको केहि नियमित दर्शन गर्ने भक्तजनहरुले नाम नखोल्ने शर्तमा बताएका छन् ।

उनको अनुसार अहिले माता जानकीको आरती पनि समयमै नभएर कहिले बिहान ५ बजे त कहिले ६ बजे त कहिले ७ बजे पनि हुने गरेको बताए । मन्दिर सार्वजनिक स्थल भएकोले यहाँ आरति लगायतको धार्मिक कार्यहरु नियमित निश्चित समयमा हुनुपर्दछ जसले गर्दा आश्रित भक्तजनहरुलाई समेत समयमै पुजाआजा गरी घर फर्कन तथा आफ्ना अन्य नित्य कार्यहरु समयमै गर्न सजिलो होस् । जानकी मन्दिरमा दक्षिणा दिनेलाई सो बाटोबाट दर्शन गर्न दिने र दक्षिणा नदिनेलाई दर्शन गर्न नदिने बुझिएको छ । जानकी मन्दिर लगायत सार्वजनिक स्थलहरुमा सबैसँग समान व्यवहार हुनुपर्ने उनिहरुको स्पष्ट कुरा रहेको थियो ।
धार्मिक दुष्टिकोणले गर्भगृह वा मन्दिरमा प्रवेश उत्तरतिरबाट गर्नु मृत्युयोग हुने गरेको जुन अहिले खुल्ला रहेको देखिन्छ भने राम्रो मानिने दक्षिणतिरबाट थुनिएकोले उनिहरुले कि त दुबै बन्द हुनु पर्दछ वा दक्षिणतिरको बाटो खोलिनुपर्ने जोडदार माँग गरेका छन् । साथै उनिहरुले अहिले यस क्षेत्रका निर्वाचित रास्वपाका प्रतिनिधिसभा सदस्य मनिष झा लगायतका अन्य सरोकारबालाहरुलाई चाँडै जानकी मन्दिरलाई ट्रस्टमा लग्न ध्यानाकर्षणको साथै जोडदार अपिल समेत गरेका छन् ।
