" >
पञ्चायतकालिन नेता कुलानन्द झाको नाति बने माननीय - Jaleshwortoday

पञ्चायतकालिन नेता कुलानन्द झाको नाति बने माननीय

 २४ फाल्गुन २०८२, आईतवार २२:२५  
1

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ फागुन

महोत्तरी–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पञ्चायतकालिन नेता कुलानन्द झाको नाति उज्ज्वलकुमार झा निर्वाचित भई माननीय भएका छन् ।
उनी ३२ हजार ४५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार रिजवान अन्सारीले ५ हजार ९६९ मत मात्रै ल्याएका छन् ।
झा पेशाले इन्जनियिर हुन् । यसअघि ०७९ मा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका ३३ वर्षीय झा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका थिए । महोत्तरीमै जन्मिएका झा एकराडा गाउँपालिकाका स्थायीबासी हुन् । झाले भीआईटीआई टेलगामबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका हुन् । इन्जिनियरिङ पृष्ठभूमिका कारण उनी विकास, पूर्वाधार र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै मतदातामाँझ पुगेका थिए । जसको एजेन्डा नै विजेता बन्नुको पहिलो कडी बन्यो । उनी महोत्तरीको परिचित राजनीतिक परिवारका सदस्य पनि हुन् । उनका हजुरबुबा कुलानन्द झा पञ्चायतकालका चर्चित नेता थिए । उनका हजुरबुबालाई स्थानीयले अझै पनि ’न्यायप्रेमी नेता’का रूपमा सम्झन्छन् । यहि पारिवारिक पृष्ठभूमि उनलाई समाजसेवा र सार्वजनिक जीवनप्रति प्रेरित गरेको बताइन्छ । स्थानीयस्तरमा उनी एक सामाजिक र सक्रिय युवा अनुहारका रूपमा चिनिन्छन् । निर्वाचित भएपछि झाले मतदाताले जसरी स्नेह देखाएका छन् त्यो स्नेहको बदलामा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । २०७९ सालको प्रदेश सभा निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी कै क्रममा उल्लेखनीय मत प्राप्त गरेका थिए ।
सो निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रानीकुमारी तिवारी ६ हजार ४१४ मतसहित विजयी हुँदा उज्ज्वलले ५ हजार ४८९ मत प्राप्त गरी कडा उपस्थिति जनाए । त्यतिबेला प्रमुख दलका उम्मेदवारलाई पछाडि पार्दै उनले राजनीतिक सम्भावना देखाउन सफल भएका थिए । स्थानीय मतदातामाँझ पढे लेखेका, इमान्दार र विकासप्रति स्पष्ट दृष्टिकोण राख्ने युवाको छवि बनाउन सफल भएकाले यहाँका मतदाताले उनलाई प्रतिनिधिसभामा पुर्याएका हुन् ।