जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २१ मंसिर
चक्रवर्ती सम्राट दशरथका सुपुत्र मर्यादा पुरुषोत्तम भगवान श्रीराम र राजशिरोमणि शिरध्वज जनकका सुपुत्री पृथ्वी स्वरुपा जानकीबीच मिथिला परम्परा अनुसार प्रतीकात्मक बैबाहिक कार्यक्रम गरी विवाह पञ्चमी मनाइएको छ ।
प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी सीतारामको आराधनासहित प्रतीकात्मक रुपमा शुक्रबार साँझ विवाह सम्पन्न भएको छ ।
त्रेता युगमा मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा बिबाह पञ्चमी महोत्सव मनाउने गरिएको छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् श्रीराम र सीताको विवाह महोत्सव विधिपूर्वक मनाइएको छ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलाबासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिवधनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको भव्य समारोहबीच विवाह सम्पन्न भएको बताइन्छ ।
रामायणका अनुसार जनकपुरधामको रङ्गभूमि मैदान बारहविग्हामा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको जनविश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् ।
पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान रामको प्रतीमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइएको थियो । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिएको थियो । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइ मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिएको छ । वैवाहिक कार्यक्रममा भारतको अयोध्याबाट आएका विशेष जन्तीसमेत सहभागी भएका छन् । भगवान श्रीराम र सीताबीच वैवाहिक कार्यक्रम सम्पन्न गर्न सीताको अभिभावकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र भगवान रामको अभिभावकको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी वैष्णवले निर्वाह गरेका छन् । बैबाहिक कार्यक्रम पूरा भएपछि राम गिरी र रामतपेश्वरले सम्धी मिलन गर्दा सहभागी मिथिलानीहरुले ठट्यौली लोक गित गाउँदा माहौल ख्यालठट्टामय बनेको थियो ।
यसअघि स्वयमबर कार्यक्रमका लागि निस्केको भगवान्को डोला शोभायात्रामा विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका लाखौं श्रद्धालु सहभागी भएका थिए । रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको थियो ।
देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ । गएको आइतबारदेखि सुरु भएको सात दिवसीय सीताराम विवाह पञ्चमी महोत्सवको छैठौ दिन शुक्रबार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरी देशभरका सीता राम मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइन्छ । विवाहपञ्चमीका दिन विवाह गर्न साइत नचाहिने सामाजिक मान्यतासमेत रहेकोछ ।
