" >
शिक्षा शाखाको अनुगमन होस् - Jaleshwortoday

शिक्षा शाखाको अनुगमन होस्

 १ फाल्गुन २०८१, बिहीबार ००:२२  
Jaleshwor Today Editorial

शिक्षा तथा संस्कृति मन्त्रालयबाट २०८१ साल माघ २९ गते जारी भएको सूचना स्वागतयोग्य देखिन्छ । एक ताका यही मन्त्रालयले नयाँ दर्ता तथा अपग्रेड सम्बन्धी सम्पूर्ण कार्यहरु स्थानिय निकायको हो र हामी यस सम्बन्धमा केहि पनि बोल्न सक्दैनौं भन्ने मन्त्रालय आज कानुन सम्बत प्रक्रिया पुर्याएर सम्बन्धीत निकायबाट दर्ता गराई नीजि विद्यालय संचालन गर्न निकालिएको सूचना स्वागतयोग्य देखिन्छ । साथै नयाँ विद्यालय दर्ताको प्रक्रियामा मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले ८ वटै जिल्लाहरुमा संचालित नीजि शिक्षालयहरुलाई नियमन तथा संरक्षण गर्न देखाएको ऐतिहासिक कदमलाई प्रत्येक शैक्षिक प्रतिष्ठानले स्वागत गर्न जरुरी देखिन्छ । विगतमा स्थानिय पालिका मार्फत नीजि गुठी शिक्षा ऐन अन्तर्गत नयाँ विद्यालय संचालन गर्न पाउने व्यवस्था हुँदाहुदै पनि थोरै पालिकाहरुमा नीजि गुठी शिक्षा ऐनको आधारमा नयाँ विद्यालय संचालन गर्न पाइएको छ भने धेरै पालिकाहरुमा नयाँ विद्यालय संचालन गर्न तथा अपग्रेडको लागि निवेदन दर्ता गराए पनि वर्षाैं देखि नयाँ ईजाजत तथा अपग्रेडको प्रमाणपत्र नपाएको अवस्था छ । यस मन्त्रालयबाट नै मधेस प्रदेश भरीका स्थानिय पालिकाहरुमा थन्कीएर रहेका नयाँ दर्ता तथा अपग्रेडका निवेदनहरुलाई अबिलम्ब कार्यान्वयन गर्न गराउनको लागि स्थानिय शिक्षा शाखा तथा सरोकारबालाहरुलाई निर्देशन सहितको समन्वय गर्न आवश्यक रहेको देखिन्छ । विभिन्न पालिकाहरुमा पावर र पहँुचको भरमा काम हुने तथा पावर र पहँुच नभएकाहरुका काम थन्केर रहने प्रवृति हावि भएकोले यस मन्त्रालयले मधेस प्रदेशका स्थानिय निकाय अन्तर्गतको शिक्षा शाखाको पनि अनुगमन तथा नयाँ दर्ता तथा अपग्रेडका लागि दिइएका निवेदनहरुको कार्यान्वयन भयो भएन जाँच गर्न आवश्यक देखिन्छ ।